विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौंतिर लागेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यक्रम अनिश्चित भएको छ ।
विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं गएकी हुन् ।
एमालेबाट निर्वाचित उपसभामुख दनुवार आज बिहान एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं गएकी हुन् । दनुवार आइतबार बेलुका नै काठमाडौं जान खोजेकी थिइन् । ‘हिजै जाने तयारी थियो तर टिकट पाइएन, गाडीमा जाने तयारी भए पनि जानु भएन,’उनी निकट स्रोतले भन्यो, ‘आज पहिलो फ्लाइटमा जानु भयो ।’
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपसभामुख दनुवार बिहान ८ बजेको फ्लाइटमा काठमाडौं गएको बताए । उनका अनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौं गएकी हुन् ।
मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् । किनकी ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत (४७ मत) मात्रै छ ।
सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् ।
अध्यक्ष मण्डलमा उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने बताएका छन् । अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् ।
आजको बैठकमा अनुपस्थित हुन नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरूलाई निर्देशन दिएका छन् । दलको निर्देशनपछि एमालेका ७ र राप्रपाका एक सांसदले जरुरी घरायसी काम परेको भन्दै केही दिन बैठकमा उपस्थित हुन नसक्ने सूचना दिएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ, जुन कठिन बहुमत हो । उनको विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्