काठमाडौं, २५ माघ । बंगलादेशको पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै एक अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ।
जियाको मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मोहम्मद अख्तारूज्जामानले सो फैसला गरेका हुन्।
जियालाई अनाथ बच्चाका लागि विश्वभरबाट उठेको पैसामध्ये झन्डै साढे २ करोड रूपैयाँ भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरिएको हो।
अहिले बंगलादेशको प्रतीपक्षी बंगलादेश नेसनालिस्ट पार्टीकी नेता रहेकी ७२ वर्षिया जियालाई अदालतको फैसलापछि पक्राउ गरिएको छ। उनलाई आजै जेल चलान गरिएको छ।
यही मुद्दामा अदालतले जियाका छोरा तारिक रहमानलाई पनि १० वर्षको कैद सजाय सुनाएको छ। रहमान अहिले बेलायतमा छन्।
जिया (१९९१-१९९६) र (२००१-२००६) मा दुईपटक गरी १० वर्ष बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन्। उनीसंग सम्बन्धित अरू मुद्दा पनि अदालतमा विचाराधीन छन्।
प्रतिक्रिया दिनुहोस्