काठमाडौं, १७ असोज । न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारती मानन्धरले आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसन थालेकी छन् । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारतीले माइतीघरमा अनसन थालेकी हुन् । उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् ।सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।
रिपोर्टस क्लबमा मंगलबार उनले मान्छे मारेर आममाफी पाउने भए बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी छिन् ।उनको भनाइ थियो, ‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं ।’२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।
वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको उनको भनाइ छ ।जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै राष्ट्रपतिबाट आममाफी पाएका हुन् ।सर्वस्वसहित जन्मकैद सजाय पाए ढकाललाई ४० प्रतिशत मात्र सजाय काटेपछि माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो ।२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो ।ढकाललाई आममाफी दिएपछि राष्ट्रपति पौडेलको चर्को आलोचना भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्