काठमाडौं, ७ कात्तिक । फाइनलमा युनाइटेड अरब इमिरेट्स यूएईविरुद्ध डकवर्थ लेविस पद्धति डीएलएस अनुसार १९ रनको जित निकाल्दै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि उचालेको छ ।
मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा भएको खेलमा नेपालले २८० रन बनाएको थियो । तर, वर्षाका कारण यूएईले १९८ रनको लक्ष्य पायो । लक्ष्य पछ्याउने क्रममा यूएई २६।१ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो ।
यूएईका ध्रुब परासरले ५९ रन बनाए । कप्तान आयन अफजल खानले ३०, आर्यन्स शर्माले ३२ र यायिन किरण राईले १७ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका आकाश त्रिपाठीले सर्वाधिक चार, सुभाष भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८० रन बनाएको थियो ।
नेपालका कप्तान देव खनालले १०० रन बनाए । उनले ९२ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । १४–२ को अवस्थामा रहँदा ब्याटिङमा आएका देवले तेस्रो विकेटका निम्ति अर्जुन कुमालसँग १२५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए ।
अर्जुनले ७८ बलमा चार चौकासहित ५५ रन बनाए । उत्तम मगरले ५७ रन थपे । दीपक डुम्रेले २७ रन जोडे ।
यूएईका हरित सेट्ठीले चार विकेट लिए । अयान अफ्जल खान र अम्मर बडामीले समान एक विकेट लिए ।
नेपाली अपराजित रहँदै फाइनलमा पुगेको थियो । नेपालले समूह चरणका तीनै खेलमा सहज जित निकालेको थियो ।
नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन् । प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन् ।
यू–१९ एसिया कपको समूह ‘ए’मा नेपालले पाकिस्तान र भारतसँगै यूएईसँग खेल्नेछ । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान छन् ।
प्रतिक्रिया दिनुहोस्