काठमाडौं २४ पौष । भर्खरै सम्पन्न भएको आम निर्वाचनबाट सांसद बनेका बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले एक समर्थकलाई थप्पड हानेका छन् । मतदान गर्न मतदान स्थल पुगेका शकिबले धक्का लागेको भन्दै समर्थकलाई गालामा थप्पड हानेका हुन् ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सका अनुसार उक्त घटना २ दिनअघिको हो । निर्वाचनमा सहभागी भएका शकिब मतदान गर्न मतदान स्थल पुगेका थिए ।
उनीसँग सेल्फी र भिडियो खिच्नेको भिड हुन्छ । त्यही भिडमा पुगेका एक समर्थकबाट उनलाई पछाडिबाट धक्का लाग्छ र उनी फर्किएर उक्त समर्थकलाई गालामा थप्पड हानेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।
बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिबले जित हासिल गरेका हुन् ।
मगुराको पश्चिमी सहरमा अवामी लिग पार्टीबाट उम्मेदवार बनेका शकिब १ लाख ५० हजार मतान्तरले विजयी भएका हुन् ।
शकिबले १ लाख ८५ हजार ३ सय ८८ र प्रतिद्वन्द्वी बंगलादेश कंग्रेसका रेजल हसनले ४५ हजार मत पाए ।
प्रतिक्रिया दिनुहोस्