काठमाडौं १० माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसको डीन कार्यालयमा विद्यार्थीले अनिश्चितनकालीन ताला लगाएका छन् ।
१७ बुँदे माग अघि सार्दै स्वतन्त्र विद्यार्थी युनियनले मंगलबारदेखि ताला लगाएको हो । आन्दोलनमा आवासीय, इन्टर्नसीप, फार्मेसी लगायतका विद्यार्थीको साथ छ ।
डीन कार्यालयले चार वर्षदेखि विद्यार्थीका माग सुनुवाइ नगरेको र पटक पटकका सहमति कार्यान्वयन नगरेको विरोधमा ताला लगाइएको स्ववियु सभापति आनन्दकुमार सिंहले बताए ।
“नौ महिना अघि पनि हामी यिनै माग लिएर आन्दोलन गरेका थियौँ, त्यतिबेला १४ बुँदे सहमति भयो तर कार्यान्वयन भएन,” सिंहले भने ।
मागमा डीन कार्यालयले एकल ढंगले संस्थानलाई चलाउन खोजेकोे, क्याम्पस प्रशासनले विद्यार्थीका सामान्य माग समेत पुरा नगरेको, होस्टेलको अवस्था सुधार नभएको लगायतका असन्तुष्टि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्