काठमाडौं १९ माघ । चीनका अर्बपति बैंकर बाओ फ्यानले कम्पनीका सबै पदबाट दिए राजीनामा चीनका प्रसिद्ध अर्बपति बैंकरमध्येका एक बाओ फ्यानले आफ्नो इन्भेस्टमेन्ट कम्पनीको प्रमुख पदबाट राजीनामा दिएका छन्।
उनको कम्पनी ‘चाइना रेनेसान्स होल्डिङ्स’ले उक्त खबरको पुष्टि गर्दै ‘स्वास्थ्य र पारिवारिक कारण’ उनले सबै पदबाट हट्ने उल्लेख गरेको छ।
‘चाइना रेनेसान्स होल्डिङ्सु बाओ फ्यानले बनाएको कम्पनी हो र यसले इन्भेस्टमेन्ट बैंकिङको व्यवसाय गर्छ। बाओ फ्यान गत वर्ष फेब्रुअरीमा अचानक ‘बेपत्ता’ भएका थिए। त्यसयता उनको पत्ता लागेको खबर आएको छैन।
बाओ फ्यान अचानक बेपत्ता हुनुअघि चिनियाँ सरकारले वित्तीय सेवा कम्पनीहरूविरुद्ध घुसखोरीको आरोपमा अनुसन्धान सुरु गरेको थियो।
चीन सरकारको यो कदमले देशका धेरै व्यापारी स्तब्ध भएका छन्। त्यतिबेला ‘चाइना रेनेसान्स होल्डिङ्स’ले विज्ञप्ति जारी गरी बाओ फ्यानले सरकारी अधिकारीलाई अनुसन्धानमा सहयोग गरिरहेको बताएको थियो।
बाओ फ्यानले देशमा ठूला टेक कम्पनीहरूको उदयमा ठूलो भूमिका खेलेको मानिन्छ।
प्रतिक्रिया दिनुहोस्