काठमाडौं ४ फागुन । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।
ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ । साथै बजार, पसल र अन्य कामहरु पनि बन्द छन् । यो बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् ।
बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा छन् । राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए । तर विभिन्न प्रदेशहरुले नाका बन्द गरेर किसानहरुलाई रोकेका छन् ।
उनीहरु सडकमै खाने, बस्ने, सुत्ने गरिरहेका छन् । किसानहरुलाई रोक्ने क्रममा प्रहरीले ड्रोनबाट अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता निष्कर्ष विहीन भएको थियो । भारतीय मिडियाहरुका अनुसार बिहीबार बेलुकी आठ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो ।
वार्ता विफल भएपछि उनीहरुले शुक्रबार बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द आह्वान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्