काठमाडौँ, ६ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख (जेलर) कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार जेलमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिन भनी घुस मागेको अभियोगमा जेलर दाहाललाई केही दिन पहिले रु ४० हजार घुससहित पक्राउ गरिएको थियो ।
जेलर दाहाललाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।
यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय, म्याग्दीअन्तर्गत प्रहरी चौकी पाखापानीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर विसीलाई रु एक लाख ६० हजार घुससहित पक्राउ गरेको छ ।
प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले विसीलाई पक्राउ गरेको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्