काठमाडौं ५ चैत । चीनले फेरि अरुणाचल प्रदेशमा आफ्नो दाबी गरेको छ। चिनियाँ सेनाले अरुणाचल प्रदेश चीनको भित्री भाग भएको जिकिर गरेको हो।
यसअघि पनि चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाचल प्रदेश भ्रमण गर्दा विरोध गरेको थियो ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले भने, ‘शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र हो।
भारतले अवैध रूपमा खडा गरेको अरुणाचल प्रदेशलाई चीनले विरोध गरेको छ। हामीले अरुणाचल प्रदेशलाई कहिल्यै मान्यता दिएका छैनौँ।’
बीबीसीका अनुसार अरुणाचल प्रदेशमा सेला सुरुङ निर्माण गरेर भारतले आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरेपछि चीनको यो बयान आएको हो।
चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मानेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च ९ मा अरुणाचल प्रदेश भ्रमण गरी सेला सुरुङमार्ग उद्घाटन गरेका थिए। यसप्रति चीनले आपत्ति जनाएको थियो।
भारतका लागि रणनीतिक रूपमा महत्वपूर्ण यो सुरुङमार्गको उद्घाटनपछि चीनले भारतको यो कदमले सीमा विवादलाई थप जटिल बनाउने बताएको थियो।
त्यसबेला पनि चीनले अरुणाचल प्रदेशलाई भारतले गैरकानुनी रूपमा स्थापना गरेकोले आफूले कहिल्यै मान्यता दिन नसक्ने बताएको थियो।
भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको अरुणाचल प्रदेश भ्रमणमा चीनको आपत्तिको जवाफ दिएको थियो।
अरुणाचल प्रदेश भारतको अभिन्न अंग हो भन्ने तथ्यलाई चीनको विरोधले परिवर्तन नगर्ने अडान मन्त्रालयले राखेको थियो।
मन्त्रालयले अरुणाचल प्रदेशमा भारतको विकास परियोजनामा चीनको विरोध बेतुकको भएको बताएको थियो।
प्रतिक्रिया दिनुहोस्