काठमाडौं १३ चैत । मनामा बहराइन फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत आज नेपाल र बहराइनबीच दोस्रो खेल हुँदैछ । खेल स्थानीय समयअनुसार राति १० बजे नेपाली समय अनुसार मध्यराति पौने १ बजे० बहराइनको रिफास्थित नेशनल स्टेडियममा सुरू हुनेछ ।
समूह ‘एच’ मा रहेका यी दुई टोली एक सातामा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दशरथ रंगशालामा होम म्याच खेल्नुपर्ने नेपालले मैदानको अवस्था खेल्नलायक नभएपछि पहिलो लेगको खेल बहराइनमै आएर खेलेको थियो । पहिलो खेलमा फराकिलो जित निकालेको बहराइन उच्च मनोबलमा छ ।
अगाडिको खेलको नतिजाभन्दा पनि आजको खेलमा केन्द्रित हुने दुवै टिमका प्रशिक्षकले बताएका छन् । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनलाई कडा टक्कर दिने बताएका छन् । ‘हामी खेलको लागि तयार छौं । बहराइनी टिममा धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेका अनुभवी खेलाडीहरू छन् । तर हामी कडा टक्कर दिनेछौं ।’ एनेसले प्रि–म्याच कन्फेरेन्समा भने ।
पछिल्लो खेलमा घाइते भएका नेपालका फरवार्ड अन्जन विष्ट खेल्न नसक्ने भएको र टिममा केही परिवर्तन हुने उनले बताए । ‘केही खेलाडी परिवर्तन हुन्छन् । पछिल्लो खेलमा अन्जन घाइते भए ।’ अन्जन नहुँदा नयाँ खेलाडीलाई पनि अनुभव बटुल्ने मौका हुने एनेसले बताए ।
प्रतिक्रिया दिनुहोस्