काठमाडौं ८ फागुन । एमाले र माओवादी बीच पार्टी एकता घोषणा भएको छ । एकतासंगै संगठगन समायोजन र राजनीतिक प्रतिवेदन तयारीका लागि दुई कार्यदल गठन भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राती सम्पन्न एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको हो ।
कार्यदलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल,र सुरेन्द्र पाण्डे रहेका छन् । पूर्व माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा रहेका छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ ।
पार्टी एकता प्रतिवेदन कार्यदलमा पूर्व एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । कार्यदलले एक हप्ताभित्र एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ ।
दुवै कार्यदलका लागि ओली र प्रचण्डले निर्देशन दिएका छन् । संगठनात्मक रुपमा ९९ सदस्यीय केन्द्रीय समिति, ३३सदस्यीय पोलिटव्युरो र ११ सदस्यीय स्थायी समिति बनाउने सहमति भइसकेको छ । ओली र प्रचण्ड महाधिवेशनसम्म दुवै जना पार्टी अध्यक्षका रुपमा रहने छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले सरकारको नेतृत्व र अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व गर्नेछन् । यो मोडालिटि नेपालमा पहिलो अभ्यास हो ।
प्रतिक्रिया दिनुहोस्