सुर्खेत, ३० चैत्र । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्सिया भीमा(रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो ।
त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् । बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो । पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’
अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण नै उनको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्