काठमाडौं । रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा क्षति पुगेपछि खोज तथा उद्धार कार्य जारी रहेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेलिकोप्टर तथा ड्रोन सञ्चालक संघसंस्थालाई तत्काल सहयोग गर्न विशेष आग्रह गरेको छ ।
प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकोप्टर तथा ड्रोनसँग सम्बन्धित संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उद्धारका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन अनुरोध गरेको हो ।
धुँवाबाट उद्धार टोलीलाई संकेत गर्न सुझाव
उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई आफ्नो स्थान पहिचान गराउन घर वा बसोबास गरिरहेको क्षेत्रमा आगो बालेर धुँवाबाट संकेत गर्न प्राधिकरणले सुझाव दिएको छ ।
प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क नहुन सक्ने अवस्थामा धुँवाबाट संकेत गर्दा उद्धार टोलीलाई संकटमा परेका व्यक्तिको स्थान पत्ता लगाउन सहज हुने प्राधिकरणले जनाएको छ ।
यस्तो संकेत गर्दा भने आफू र वरपरका व्यक्तिको सुरक्षामा जोखिम नपर्ने गरी मात्र सावधानीपूर्वक गर्न आग्रह गरिएको छ ।
आपत्कालीन नम्बरमा सम्पर्क गर्न आग्रह
प्राधिकरणले विपद्को अवस्थामा आवश्यक सहायता तथा समन्वयका लागि सार्वजनिक गरिएका आपत्कालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बाढी प्रभावित जिल्लामा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन भइरहेका छन् भने थप स्रोतसाधन परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्