काठमाडौं १२ असार । इजरायलका पूर्व प्रधानमन्त्री एहुद बराक सहित देशका प्रमुख व्यक्तित्वहरूको एक समूहले न्यूयोर्क टाइम्समा एक साझा लेख लेख्दै वाशिंगटनलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई जुलाई २४ मा कांग्रेसलाई सम्बोधन गर्न दिइएको निमन्त्रणा फिर्ता लिन आह्वान गरेको छन्। यो लेख डेभिड हारेल, इजरायलको विज्ञान र मानविकी अकादमीका अध्यक्ष, तामिर पार्डो, मोसाद जासुसी एजेन्सीका पूर्व निर्देशक, तालिया सासन, राज्य वकिल कार्यालयकी पूर्व अभियोजक, एहुद बराक, पूर्व प्रधानमन्त्री, आरोन सिचानोभर, जसले २००४ मा रसायन विज्ञानमा नोबेल पुरस्कार पाएका थिए र लेखक डेभिड ग्रोसम्यानले संयुक्त रुपमा इजरायलेका वास्तविक प्रतिनिधित्व गर्ने दावी गर्दै लेखेका हुन् ।
उनीहरुले यस निमन्त्रणालाई अमेरिकाको ‘भयानक गल्ती’ को रूपमा चित्रण गरेको छन्, यो भाषणले ‘इजरायल राज्य र यसका नागरिकहरूको प्रतिनिधित्व गर्ने छैन, र यसले हाम्रो देशप्रति उनको अपमानजनक र विनाशकारी आचरणलाई पुरस्कृत गर्नेछ’ भन्दै चेतावनी दिएका छन् ।
‘नेतन्याहूलाई निम्त्याउनाले शान्ति योजना स्थापना गर्ने, गाजाका पीडित जनतालाई थप सहायता दिने र नागरिकहरूलाई बचाउने अमेरिकी प्रयासहरूप्रति उनको अवहेलनालाई पुरस्कृत गर्नेछ,’ लेखमा उल्लेख छ।
‘पटक–पटक, उनले गाजामा शान्ति सेना स्थापना गरेर हमासलाई सत्ताबाट हटाउने राष्ट्रपति बाइडेनको योजनालाई अस्वीकार गरेका छन्। यस्तो कदमले धेरै र व्यापक क्षेत्रीय गठबन्धन निम्त्याउन सक्छ, जसमा इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधान गर्ने दृष्टिकोण पनि समावेश छ, जुन इजरायलको हितमा मात्र होइन, संयुक्त राज्य अमेरिकाका दुवै राजनीतिक दलहरूको हितमा पनि छ। तर नेतन्याहू यी परिणामहरूको मुख्य बाधक हुन्’ लेखमा भनिएको छ ।
लेखले नेतन्याहूलाई ‘इजरायलको अधिनायकवादी पुनर्निर्माणू को लागि आलोचना गर्दै भनिएको छ कांग्रेसमा दिइने भाषणले प्रधानमन्त्रीलाई ‘उनका मतदाताहरूलाई उनको असफल नीतिहरूप्रति अमेरिकाको तथाकथित समर्थनको बारेमा घमण्ड गर्नू अनुमति दिनेछ।
‘कांग्रेसमा उनको उपस्थितिले इजरायलमा उनका समर्थकहरूलाई युद्ध जारी राख्न जोड दिन प्रोत्साहित गर्नेछ, जसले बन्धकहरू, जसमा केही अमेरिकी नागरिकहरू पनि समावेश छन्, को रिहाई सुनिश्चित गर्ने कुनै पनि सम्झौतालाई अझ टाढा पुर्याउनेछ,‘ यसमा थप उल्लेख गरिएको छ ।
लेखको भावानुवाद यस्तो छ ।
अमेरिकी कांग्रेसका नेताहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई जुलाई २४ मा सिनेट र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न निम्तो दिएका छन्। सामान्यतया, हामी इजरायलीहरूले यो निमन्त्रणालाई हाम्रा दुई राष्ट्रहरूका साझा मूल्यहरूको मान्यता र हाम्रो सबैभन्दा नजिकको मित्र र सहयोगीबाट स्वागतयोग्य इशाराको रूपमा लिन्थ्यौं, जसप्रति हामी गहिरो र नैतिक रूपमा ऋणी छौं।
तर कांग्रेसले एक भयानक गल्ती गरेको छ। श्री नेतन्याहूको वाशिङ्टनमा हुने उपस्थितिले इजरायल राज्य र यसका नागरिकहरूको प्रतिनिधित्व गर्ने छैन, र यसले हाम्रो देशप्रति उनको अपमानजनक बरु विनाशकारी आचरणलाई पुरस्कृत गर्नेछ।
हामी इजरायली समाजका विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्दछौं जस्तै विज्ञान, प्रविधि, राजनीति, रक्षा, कानून र संस्कृति। त्यसैले हामी श्री नेतन्याहू सरकारको समग्र प्रभावको मूल्यांकन गर्ने राम्रो स्थितिमा छौं, र अन्यधेरैले जस्तै, हामी पनि विश्वास गर्छौं कि उनले इजरायललाई चिन्ताजनक गतिमा तलतिर गिराइरहेका छन्, यहाँसम्म कि हामीले आखिरमा हामीले अत्यन्तै माया गर्ने आफ्नै देश गुमाउन सक्छौं।
आजसम्म, नेतन्याहूले गाजामा युद्ध अन्त्य गर्ने योजना ल्याउन असफल भएका छन् र दर्जनौं बन्धकहरूको स्वतन्त्रताको रक्षा गर्न पनि असफल भएका छन्। कम्तीमा पनि, कांग्रेसलाई सम्बोधन गर्ने निमन्त्रणा यी दुई मुद्दाहरू समाधान गर्ने र साथै इजरायलमा नयाँ चुनावको आह्वान गर्ने कुरामा आधारित हुनुपर्थ्यो।
नेतन्याहूलाई निम्त्याउनाले शान्ति योजना स्थापना गर्ने, गाजाका पीडित जनतालाई थप सहायता दिने र नागरिकहरूलाई बचाउने अमेरिकी प्रयासहरूप्रति उनको अवहेलनालाई पुरस्कृत गर्नेछ। पटक–पटक, उनले गाजामा शान्ति सेना स्थापना गरेर हमासलाई सत्ताबाट हटाउने राष्ट्रपति बाइडेनको योजनालाई अस्वीकार गरेका छन्। यस्तो कदमले धेरै ठूलो र व्यापक क्षेत्रीय गठबन्धन निम्त्याउन सक्छ, जसमा इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधान गर्ने दृष्टिकोण पनि समावेश छ, जुन इजरायलको हितमा मात्र होइन, संयुक्त राज्य अमेरिकाका दुवै राजनीतिक दलहरूको हितमा पनि छ। श्री नेतन्याहू यी परिणामहरूको मुख्य बाधक रुपमा खडा छन् ।
आगामी महिना कांग्रेसलाई सम्बोधन गर्ने व्यक्तिले हमास आक्रमणलाई अनुमति दिने गल्तीहरूको जिम्मेवारी लिन असफल भएका छन्, सुरुमा सुरक्षा प्रमुखहरूलाई दोष दिए (त्यसपछि छिट्टै पछि हटे), र अझै पनि यो फियास्कोको जाँच गर्न सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा अत्यन्त आवश्यक राज्य जाँच आयोग स्थापना गर्ने घोषणा गरेका छैनन्।
अक्टोबर ७ मा हमासको भयानक आक्रमणपछि गाजामा भीषण लडाई र दुवै पक्षमा दैनिक हताहती भए तापनि, श्री नेतन्याहूले इजरायलको अधिनायकवादी पुनर्निर्माणलाई अघि बढाइरहेका छन्, मानौं त्यहाँ केही परिवर्तन भएको छैन। दक्षिणपन्थी सुरक्षा मन्त्री इतामार बेन–गभीरको कमाण्डमा रहेको इजरायली प्रहरी बलले प्रदर्शनकारीहरूमाथि हिंसात्मक कारबाही गरेको छ। अदालतका न्यायाधीशहरू र सर्वोच्च अदालतका अध्यक्षको नियुक्ति रोकिएको छ। केन्द्रीय वैज्ञानिक र सांस्कृतिक संस्थाहरूले राजनीतिक नियन्त्रणका सरकारी निर्देशनहरु सहन बाध्य भइरहेका छन् । ठूलो रकम लापरवाही पूर्वक अतिवादी–अर्थोडक्सहरूलाई दिइएको छ । जसले मोटामोटी रूपमा इजरायलका नागरिकहरूको आर्थिक र सुरक्षा भार बाँड्दैनन्, किन कि उनीहरुले विशेष गरी सैन्य सेवामा रहने छुट पाएका छन्। मंगलबार सर्वोच्च अदालतको फैसलाले छुटलाई उल्ट्याउनु एक कदम अगाडिको पहल त हो, यद्यपि व्यावहारिक प्रभाव अस्पष्ट छ, किनकि श्री नेतन्याहूले त्यस्तो छुटलाई कानूनमा समावेश गर्ने प्रस्ताव गरेका छन्।
सबैभन्दा माथि, धेरै इजरायलीहरू विश्वास गर्छन् कि नेतन्याहूले हमाससँग प्रस्तावित सम्झौताहरूमा बाधा पुर्याएका छन् । जसले बन्धकहरूको रिहाइमा नेतृत्व गर्ने कुरा रोकिएको छ । जसले गर्दा युद्ध जारी राख्न सकियोस् र यसरी युद्ध समाप्त भएपछि उनले सामना गर्नुपर्ने अपरिहार्य राजनीतिक हिसाब किताबबाट बच्न सकियोस्।
श्री बेन–गभीर र बेजालेल स्मोट्रिच, वित्त मन्त्री, जसको समर्थन नेतन्याहूलाई आफ्नो सरकार जोगाउन अनिवार्य छ,, उनीहरुले गाजामा युद्ध रोक्न दृढतापूर्वक विरोध गर्दै आएका छन् । अस्थायी युद्धविरामको लागि पनि उनीहरु तयार छैनन् । । उनीहरू गाजा पट्टीलाई विजय गरेर नयाँ बस्तीहरूले भर्ने अतिवादी आह्वान गर्दछन् ।
महिनौंदेखि, हामीमध्ये धेरैले बन्धकहरूको तत्काल रिहाई, युद्धको अन्त्य र तत्काल चुनावको माग गर्दै राष्ट्रव्यापी प्रदर्शनहरूमा भाग लिएका छौं। इजरायलीहरूको सर्वेक्षणले देखाएको छ– बहुमतले तत्काल चुनाव वा युद्धको अन्त्यमा गरेर तुरुन्तै चुनाव चाहन्छन्।
इजरायलीहरूको ठूलो हिस्साले श्री नेतन्याहूको सरकारमाथिको विश्वास गुमाएका छन्। उनी अस्थिर संसदीय बहुमतको कारण सत्तामा टाँसिएका छन्। त्यो बहुमतले हमास आक्रमणपछि दक्षिणमा र लेबनानमा हिजबुल्लाहको आक्रमणका कारण उत्तरमा विस्थापित दशौं हजार इजरायलीहरूको दुर्दशा र बन्धकहरूका परिवारहरू, जो अहिले इजरायलमा शक्तिशाली शक्ति हुन्, को उपेक्षा गर्छ।
यहीँनेर नेतन्याहूको कांग्रेसमा भाषण उनको राजनीतिक आवश्यकताहरूसँग मेल खान्छ। निःसन्देह यो सावधानीपूर्वक स्टेज–व्यवस्थापन गरिनेछ ताकि सत्तामा उनको अस्थिर पकड बलियो बनाउन र उनका मतदाताहरूलाई उनको असफल नीतिहरूप्रति अमेरिकाको तथाकथित समर्थनको बारेमा घमण्ड गर्न अनुमति दिनेमा केन्द्रित हुनेछ ।
कांग्रेसमा उनको उपस्थितिले इजरायलमा उनका समर्थकहरूलाई युद्ध जारी राख्न जोड दिन थप प्रोत्साहित गर्नेछ, जसले बन्धकहरू, जसमा केही अमेरिकी नागरिकहरू पनि समावेश छन्, को रिहाई सुनिश्चित गर्ने कुनै पनि सम्झौतालाई अझ टाढा पुर्याउनेछ।
वाशिंगटनमा नेतन्याहूलाई मञ्च दिएर अमेरिकाले इजारायका जनताको रिस र पीडालाई खारेज गर्नेछ, जुन देशभरका प्रदर्शनहरूमा व्यक्त गरिएको छ। अमेरिकी कानून निर्माताहरूले यस्तो हुन दिनु हुँदैन। उनीहरूले नेतन्याहूलाई घरमै बस भन्नुपर्छ।
(डेभिड हारेल -इजरायल विज्ञान र मानविकी अकादमीका अध्यक्ष हुन्। तामिर पार्डो -इजरायलको विदेशी खुफिया सेवा मोसादका पूर्व निर्देशक हुन्। तालिया सासन -इजरायलको राज्य वकिल कार्यालयको विशेष कार्य विभागकी पूर्व निर्देशक हुन्। एहुद बराक -इजरायलका पूर्व प्रधानमन्त्री हुन्। आरोन सिचानोभर- २००४ मा रसायन विज्ञानमा नोबेल पुरस्कार जितेका थिए। डेभिड ग्रोसम्यान -कथा, गैर–कथा र बाल साहित्यका लेखक हुन्।)
न्यूयोर्क टाइम्सबाट
जून २६, २०२४
प्रतिक्रिया दिनुहोस्