काठमाडौं १७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डलाई अहिलेको सत्ता समीकरणमा कुनै समस्या नआउनेमा विश्वस्त दिलाएका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ओलीले बजारमा कांग्रेससँगको समीकरण बनाउने हल्ला चलेको विश्वास नगर्न प्रचण्डलाई आग्रह गरेका हुन्।
दुई नेताहरूबीच बालुवाटारमा तीन घन्टा बढी छलफल चलेको थियो। बैठकपछि सचिवालयलाई गरेको ब्रिफिङ सुनाउँदै प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने, ‘अहिले मिडियामा, बजारमा जेजे कुरा आएका छन्, त्यसमा सत्यता छैन।’
अहिलेकै समीकरणलाई बलियो बनाएर जानेबारे छलफल भएको जानकारी दुवै नेताले आफूलाई गराएको उनले बताए।
‘यसलाई अझै सुदृढ बनाएर, बलियो बनाएर जाने भनेर उहाँहरूले बैठक बसेपछि भन्नुभएको छ,’ मल्लले भने।
यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेपछि राजनीति तरंगित भएको छ।
देउवा र ओलीबीचको यो वार्तालाई सत्तारुढ दलकै अन्य घटकहरूले ‘सिरियस्ली’ लिएका छन्।
प्रतिक्रिया दिनुहोस्