काठमाडौं, १८ फागुन । अदालतको अवहेलना सम्बन्धी कान्तिपुर दैनिक विरुद्धको मुद्दाको बयान पर्सि आइतबारका लागि सरेको छ । आजसम्म बयानका लागि अदालतमा उपस्थित हुन आदेश दिएको सर्वोच्च अदालतले समय अभावको कारण देखाउँदै पर्सिका लागि सारेको हो ।
बयानका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलास सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवाली अदालत पुग्नुभएको थियो । कान्तिपुरप्रति ऐक्यबद्धता जनाउन राजनीतिक दलका नेता, अधिकारकर्मी, पत्रकारलगायत पनि सर्वोच्च परिसर पुगेका थिए।
विभिन्न जन्ममिति र नागरिकता भएका पराजुलीको शैक्षिक योग्यतामा समेत गम्भीर प्रश्न उठेपछि त्यसबारे आएको समाचारप्रति आपत्ति जनाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रेसमाथि नै सेन्सरसिप लगाउने खालको आदेश सहित कान्तिपुरलाई ७२ घण्टा भित्र आफैं उपस्थित भई बयान दिन आदेश दिनुभएको थियो ।
आफ्नो मुद्दामा आफैं न्यायाधीश हुन नपाउने प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन गर्दै जारी भएको पराजुलीको आदेशको सर्वत्र आलोचना भएको छ ।
प्रतिक्रिया दिनुहोस्