काठमाडौं २७ कात्तिक । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भैरहवामा आज गर्ने प्रदर्शन शान्तिपूर्ण र मर्यादित बनाउन आचार संहिता लागू गरेको जनाएको छ ।
सहकारी ठगी आरोप लागेका पार्टी सभापति लामिछाने पोखराबाट भैरहवा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आज भैरहवामा प्रदर्शन गर्ने तयारीमा छ । पोखराबाट भैरहवा लैजाने भनिए पनि मौसम प्रतिकूलताका कारण रविको उडान भने हुन सकेको छैन ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको अनुसन्धानका क्रममा लामिछानेसँग आजबाट सरकारी वकिलको कार्यालय भैरहवामा बयान हुँदैछ । बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुंदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गर्ने तयारी गरिएको रास्वपा रुपन्देही सभापति डा। बुद्धिप्रसाद शर्माले बताए ।
सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु पनि आउने तर को को आउने यकिन भइनसकेको डा। शर्माले बताए । ‘रास्वपाले आज गर्ने प्रदर्शन, नाराबाजीलाई शान्तिपूर्ण र मर्यादित बनाउन आचारसंहिता लागू गरी नेता कार्यकर्तालाई अग्रिम जानकारी गरिएको छ’, शर्माले भने, ‘आज हामीले कुनै दल र नेताविरुद्ध नाराबाजी गर्दैनौं, सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउनुपर्ने, अनुसन्धान राजनीतिक प्रतिशोधबाट प्रभावित हुन नहुने, सहकारी ठगीमा संलग्न जोसुकैले सजाय पाउनुपर्ने तर निर्दोषलाई फसाउन नपाइने विषयमा केन्द्रित रहेर नारा र प्लेकार्ड बनाएका छौं, यीबाहेक अरु प्लेकार्ड देखाउने र आफूखुशी नारा लगाउन नपाइने गरी कडाइ गरेका छौं ।’
आजको प्रदर्शन दिउसो २–३ बजेभित्र समापन हुने उनले जानकारी दिए । प्रदर्शन अघि २०–२५ जनाको संख्यामा नेताहरु विमानस्थलमा पनि जाने शर्माले बताए । तर विमानस्थलमा कुनै विरोध प्रदर्शन नगर्ने अध्यक्ष शर्माले स्पष्ट पारे ।
लामिछाने रुपन्देही आउने भएपछि सुप्रिम सहकारीका पीडितहरुले पनि बचत फिर्ताको माग सहित प्रदर्शन गर्ने तयारी गरेको सहकारी पीडित संघर्ष समितिकी चिना थापाले बताइन् । तर संघर्ष समितिका संयोजक विजय नेपालले भने मंगलबार बिहानसम्म प्रदर्शनबारे कुनै जानकारी नगराएको थापाले बताइन् ।
कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई ३ गते पोखरा पुर्याइएको थियो । ४ गते अदालतमा पेश गरेपछि उनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
पूर्वगृहमन्त्री लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रुपन्देही प्रहरीले कार्तिक ८ गते जिल्ला अदालतबाट लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाई सकिएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।
२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन्। ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ ।
उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ। लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।
गुल्मीको मालिका गाउँपालिका(८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन्। केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ। रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् ।
संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जीवी० राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । तर अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्