डी.सी. सर्किटले भनेको छ राष्ट्रिय सुरक्षालाई चिनियाँ नियन्त्रणबाट जोगाउन सरकारले बिक्रीका लागि दबाब दिन सक्छ।
(संपादकीय बोर्ड, डिसेम्बर ६, २०२४ , वालस्ट्रिट जर्नल)
संविधानलाई प्रायः “आत्महत्या गर्ने सम्झौता होइन“ भन्ने भनाइसँग तुलना गरिन्छ, र पहिलो संशोधनले विदेशी शत्रुहरूलाई अमेरिकी युवाहरूमाथि प्रचारबाजी गर्न अनुमति दिने छुट प्रदान गर्दैन । यही कुरालाई वासिङ्टन डी.सी. सर्किट कोर्ट अफ अपिल्सले शुक्रबार स्पष्ट पारेको छ । अदालतले अप्रिलमा पारित गरिएको एउटा कानुनको समर्थन गरेको छ, जसले टिकटकलाई चिनियाँ नियन्त्रणबाट हटाउन वा अमेरिकी एप स्टोरहरूमा प्रतिबन्ध लगाउन आवश्यक बनाउँछ ।
राष्ट्रिय सुरक्षाका लागि कडा कदम
न्यायाधीश डगलस गिन्सबर्गको नेतृत्वमा भएको फैसलामा लेखिएको छ, “सरकारले देखाएको प्रमाणले देखाउँछ कि यो कानुन राष्ट्रिय सुरक्षाको रक्षा गर्न विशेष रूपमा तयार गरिएको हो,“ र यसले पहिलो संशोधन अन्तर्गत कडा परीक्षण (strict scrutiny) पनि पार गर्नेछ ।
सरकारले टिकटकको मालिक कम्पनी बाइटडान्स, बाट टिकटकलाई छुट्याउनका लागि दुई प्रमुख आधार प्रस्तुत गरेको थियो, जुन अदालतले ठोस र विश्वासयोग्य ठहर्याएको छ ।
डेटा सङ्कलनको जोखिम
टिकटकले अमेरिकाभरी करिब १७ करोड मासिक प्रयोगकर्ताहरूको डाटालाई सङ्कलन गर्छ । यस्तो डाटा सङ्कलनले सरकारी कर्मचारीहरूको गतिविधिलाई निगरानी गर्न वा ब्ल्याकमेल वा कर्पोरेट जासुसी गर्न उपयोग गर्न सकिने जोखिम देखिएको छ । न्यायाधीश गिन्सबर्ग भन्छन्, “लगातार दुई राष्ट्रपतिले टिकटकलाई उल्लेखनीय जोखिमको रूपमा चिन्हित गरेका छन् । लामो समयसम्म भएको वार्ताका बाबजुद पनि, टिकटकले सरकारको चिन्ता समाधान गर्ने सन्तोषजनक उपाय दिन सकेन ।“
जनमतलाई प्रभावित गर्ने खतरा
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले अमेरिकी जनमतलाई प्रभावित गर्न टिकटकको प्रयोग गर्न सक्ने डरलाई पनि सरकारको प्रमुख तर्कका रूपमा प्रस्तुत गरिएको थियो । अदालतले उल्लेख गरेको छ, “चिनियाँ सरकारले निर्देशन दिएको आधारमा टिकटकले सामग्रीलाई हेरफेर गरेको छ भन्ने दाबीलाई टिकटकले स्पष्ट रूपमा अस्वीकार गरेको छैन।“ न्यायाधीश गिन्सबर्गले थप्छन्, “टिकटकको यो मौनता महत्वपूर्ण छ, विशेषगरी ’गुप्तचर समुदायको चिन्ता बाइटडान्स र टिकटकले विदेशी देशहरूमा लिएको पहिलाको कदमहरूमा आधारित छ’ भन्ने तथ्यलाई ध्यानमा राख्छ ।“
चिनियाँ हस्तक्षेपको जोखिम
यद्यपि चिनियाँ सरकारले अमेरिकामा टिकटक प्रयोगकर्ताहरूलाई प्रभाव पार्ने कुनै प्रत्यक्ष प्रयास गरेको छैन, अमेरिकी अधिकारीहरूले यस्तो जोखिमलाई हल्कासँग लिनु हुँदैन । अदालतले ताइवान र चीनको सम्बन्धलाई “संभावित तनावपूर्ण विषयवस्तु“ को रूपमा हेरेको छ, जुन चीनको प्रभावकारी अभियानको प्रमुख विषय बन्न सक्छ ।
न्यायाधीश गिन्सबर्ग भन्छन्, “सरकारले चिनियाँ जनवादी गणतन्त्र (पीआरसी) को प्रभाव सञ्चालनको विषय हुन सक्ने एउटा विशिष्ट मुद्दाको पहिचान गरेको छ—ताइवानसँगको सम्बन्ध ।“ अदालतको विचारमा, यस्तो संवेदनशील मुद्दामा जनमतलाई हेरफेर गर्ने क्षमता कुनै पनि समयमा सक्रिय हुन सक्ने खतरा हो ।
टिकटोक बिक्रीको लागि आवश्यक शर्तलाई समर्थन गर्दै अदालतको सर्वसम्मत निर्णय
डी.सी. सर्किट कोर्टका तीन जना न्यायाधीशको प्यानलले टिकटकलाई बाइटडान्सको स्वामित्वबाट छुट्याउने कानूनी आवश्यकतालाई सर्वसम्मत रूपमा समर्थन गरेको छ । यो फैसलामा न्यायाधीश श्रीनिवासनले आफ्नो सहमति जनाउँदै थप विचार प्रस्तुत गरेका छन् । उनले तर्क गरेका छन् कि यो कानुनलाई कडा परीक्षण (strict Scrutiny) होइन, बरु ’मध्यम परीक्षण’ (intermediate scrutiny) पार गर्नुपर्ने हो, जसलाई कानुनले सजिलै पार गर्दछ ।
न्यायाधीश श्रीनिवासनले लेखेका छन् “ठूलो संचार माध्यमहरूमा विदेशी नियन्त्रणको चिन्ता ’पुरानो इतिहास’ हो ।“ उनले १९१२ को रेडियो ऐनको उदाहरण दिएका छन्, जसले अन्तरराज्यीय वा अन्तर्राष्ट्रिय संचारमा संलग्न रेडियो अपरेटरहरूलाई वाणिज्य तथा श्रम मन्त्रीबाट लाइसेन्स प्राप्त गर्न आवश्यक बनाएको थियो । तर, यो लाइसेन्स केवल अमेरिकी नागरिकहरू वा अमेरिकी कम्पनीहरूलाई मात्र उपलब्ध गराइएको थियो ।
बाइटडान्सबाट टिकटकलाई छुट्याउने समयसीमा २०२५ जनवरी १९ मा सकिँदै छ । यद्यपि, राष्ट्रपतिले यसलाई थप ९० दिनको म्याद थप्न सक्नेछन्। यो समयसीमाले टिकटकलाई अमेरिकाको कानुन अनुसार आफूलाई पुनः संरचना गर्न दबाब दिन्छ ।
यद्यपि, टिकटकले यो फैसलालाई सर्वोच्च अदालतमा अपिल गर्ने प्रयास गर्न सक्छ। तर, डी.सी. सर्किटको निर्णयलाई कानूनी रूपमा ठोस र शक्तिशाली ठानिएको छ ।
सामग्रीको नियन्त्रण होइन, विदेशी हस्तक्षेपको नियन्त्रण
डी.सी. सर्किटले प्रष्ट पार्दै भनेको छ कि टिकटक सम्बन्धी कानुन “सामग्री–निरपेक्ष“ (content-Neutral) छ । यसले प्रयोगकर्ताहरूले टिकटकमा के पोस्ट गर्छन् वा टिकटकले कसरी सामग्री व्यवस्थापन गर्छ भन्ने कुरामा हस्तक्षेप गर्दैन । यसको उद्देश्य केवल यति हो कि चिनियाँ सरकारले यी निर्णयहरूमा कुनै पनि प्रकारको नियन्त्रण वा हस्तक्षेप गर्न नसकोस् ।
यो फैसला अमेरिकी राष्ट्रिय सुरक्षाका लागि ठूलो सफलता मानिएको छ, जसले चीनबाट आउने सम्भावित जोखिमलाई कम गर्न सरकारलाई कानूनी समर्थन दिएको छ ।
एबीसी टिप्पणी : डी.सी. सर्किटको यो फैसलाले राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्दै अमेरिकी युवाहरूको डाटा र विचारधारालाई बाह्य हस्तक्षेपबाट सुरक्षित राख्नको लागि अमेरिकी प्रशासनको प्रयासलाई कानूनी समर्थन दिएको छ । अदालतको विचारमा, विदेशी नियन्त्रणमा रहेका सोसल मिडिया प्लेटफर्महरूले अमेरिकी समाजमा गहिरो प्रभाव पार्न सक्छन्, जसलाई नजरअन्दाज गर्न मिल्दैन भन्ने सन्देश हो । यो नजिर संसारका अन्य देशहरुले पनि पालना गर्न सक्छन् । त्यसो भएमा आगमाी केही वर्षहरुमा कुनै पनि देश वा गठबन्धलने आफू भन्दा बाहिरको कुनै देश वा गठबन्धनका सोसल मिडियालाई प्रतिवन्ध लगाउन सक्ने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्