काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउने भएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअघि लामिछानेमाथि अनुसन्धानका लागि सात पटक म्याद थपिइसकेको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा भएकाले ९० दिन अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ ।लामिछानेविरुद्ध आगामी शुक्रबारसम्म जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको पुस ५ गते ९० दिन पुग्दैछ । लामिछानेलाई पनि जोशी पक्राउ परेको मितिबाट म्याद मिलाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्