चौतारा ११ साउन । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने भोटेकोशी नदीको लार्चा पूल पहिरोले बगाएपछि आवतजावत गर्न अस्थायी रुपमा फलामे सत्तरी राखेर फट्के (साँघु) राखिने भएको छ ।
आइतबार बेलुका अविरल वर्षासँगै खसेको पहिरोले ७० मिटर लामो पक्की पूल भाँच्चिएर बगाएपछि अस्थायी रुपमा फलामे सत्तरी राखेर फट्के बनाउन लागिएको कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिनुभयो ।
सडक विभागद्वारा बेलिबृज बनाउने कार्यक्रम रहेपनि बेलिबृज तयार हुन कम्तीमा दुई महिना लाग्ने भएकाले अस्थायी रुपमा फट्के राख्न लागिएको हो । फट्के बनाउने काम मङ्गलबारदेखि सुरु गरिएको छ । फट्के आजै बनाएर सक्ने लक्ष्य राखिए पनि लगातारको वर्षाका कारण दुई दिन ढिला सम्पन्न हुने उहाँको भनाइ छ ।
पुलको लम्बाइ ७० मिटर भए पनि जिपसमेत गरी ९० मिटर लामो रहेको छ । हालकै उचाइमा सत्तरी राखे बाढी आएको समयमा पुनःबगाउन सक्ने सम्भावना रहेकाले फलामे सत्तरी राख्न मेसिनद्वारा सामान पारी तार्नु पर्ने र उचाइ समेत बढाइने भएको छ । भोटेकोशी गाउँपालिकामा पर्ने सो पुल बगाएपछि तातोपानीबासीको लागि आवागमनसमेत बन्द भएको तातोपानीका पूर्वप्रधानपञ्च बहादुर शेर्पाले बताउनुभयो ।
यसअघि २०३८ सालमा तिब्बतबाट आएको बाढीले बगाएर ल्याएको ठूल्ठूला रुख तथा ढुङ्गा अडकिएर उक्त पुल र तातोपानीको मितेरी बगाएको थियो । चीन सरकारको सहयोगमा करिब दुई वर्षपछि दुवै पुल निकै अग्लो गरी पुनःनिमार्ण गरिएको थियो ।
विसं २०७२ को भूकम्प र २०७३ असारको बाढीले समेत सो पूललाई असर पु¥याएको थियो । भूगर्भविद्का अनुुसार सिन्धुपाल्चोकको बलेफीदेखि चीनको सीमा सम्मलाई पहिरोको अतिसंवेदनशील क्षेत्र मानिएको छ । २०५३ सालमा पनि लार्चा नजिक रहेको भैरवकुण्ड खोलामा आएको बाढीले पक्की पुल, सीमा प्रहरी चौकी र स्थानीयको घर बगाउनुका साथै ६२ जनाको निधन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्