काठमाडौं १७ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका गुठीको जग्गा खोज्न थालेको छ । जग्गाको यकिन विवरण लिएर आवश्यक नीति अवलम्बन गर्न लागिएको बताउँछन्, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
समिति बैठकमा सांसदहरूले गुठी समस्या समाधानमा के पहल भइरहेको छ भनेर सोधेका थिए । जवाफमा मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताएका हुन् ।
‘समस्या धेरै पहिलेदेखि कै हो । सरकारको अहिलेको प्राथमिकता गुठीको पुँजी कति छ भन्ने खोज्ने छ । यसकारण हामी देशभरकै गुठीको जग्गा खोज्दै छौं,’ मन्त्री अधिकारीले भने ।
दैलेखमा मात्रै ७ हजार रोपनी जग्गा एउटै गुठी अन्तर्गत रहेको र यस्तो देशका विभिन्न क्षेत्रमा रहेको उनले बताए ।
साथै, समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्