काठमाडौं १९ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको मर्म झल्कने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
सडक विभाग मार्फत पोखरामा आयोजना गरिएको आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने कार्यशाला समापनमा उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धि लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढंगबाट काम गर्न निर्देशन दिए ।
उनले रुग्ण आयोजना व्यवस्थापन गर्दै नयाँ आयोजनालाई गति दिने गरी कार्यक्षेत्रमा खटिन समेत निर्देशन दिए ।
असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानी काम गर्न समेत उनले निर्देशन दिए । उनले नीतिगत समस्या भए मन्त्रालयले सहजीकरण गर्ने बताए ।
नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनालाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन समेत उनको आग्रह छ ।
आयोजनालाई आवश्यकता र उपयोगिताका आधारमा प्राथमिकता दिइनुपर्ने भन्दै मन्त्री दाहालले संख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा निर्माण कार्यमा जोड दिनुपर्ने बताए ।
कुनै पनि आयोजना लामो समय अलपत्र रहने अवस्था अन्त्य गर्न भन्दै उनले योजना, आयोजना अलपत्र पारिने प्रवृत्ति अन्त्य गर्न मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रत्येक आयोजनाको विवरण चुस्त राख्न, अभिलेख प्रणाली व्यवस्थित बनाउन तथा कार्यक्षेत्रमै रहेर काम गर्न कार्यालय प्रमुख तथा आयोजना प्रमुखलाई निर्देशन दिए ।
कार्यसम्पादन क्रममा बेरुजु फस्र्योटलाई समेत ध्यान दिँदै बेरुजु नहुने ढंगबाट काम गर्न आग्रह गरे ।
कार्यशालामा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठ, मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल लगायतले विभिन्न विषयमा अवधारणा पत्र पेस गरेका थिए ।
कर्मचारीहरूको कार्यसम्पादन थप गतिशील बनाउन देशका अन्य भागमा समेत यस प्रकारको कार्यशाला सञ्चालन गरिने सडक विभागका महानिर्देशक पोखरेलले जानकारी दिए ।
१७ बुँदे प्रतिबद्धता तथा निर्देशन
१७ बुँदे प्रतिबद्धता तथा निर्देशन जारी गर्दै कार्यशाला समापन भएको छ । बढिभन्दा बढी समय कार्यक्षेत्रमा खटिन, अभिलेख प्रणाली व्यवस्थित बनाउन, कार्यसम्पादन विवरण नियमित रूपमा सडक विभागमा पठाउन लगायत विषय त्यसमा समेटिएका छन् ।
रुग्ण आयोजना व्यवस्थापनका कामलाई गति दिन, सञ्चालित आयोजनाहरूको नियमित नियमन गर्न लगायत विषय समेत त्यसमा छन् ।
१७ बुँदे प्रतिबद्धता तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्नसमेत मन्त्री दाहालले आग्रह गरे । उल्लेखित विषय कार्यान्वयन भए, नभएको मूल्यांकन मन्त्रालयले गर्ने र त्यसलाई दण्ड र पुरस्कार प्रदानको आधार समेत बनाइने मन्त्रालयका सचिव शर्माले बताए ।
देवेन्द्र दाहाल सडक विभाग
प्रतिक्रिया दिनुहोस्