काठमाडौं १९ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने बताएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए ।
‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो,’ सापकोटाले भने, ‘संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्यो । बैठक पनि समयमा नबोलाउने भएपछि यो भन्दा गम्भीर कुरा अरु हुन सक्दैन ।’
उनका अनुसार अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको छ ।
‘अब हामी सबै पार्टीसित पनि छलफल चलाउँछौं । प्रभावकारी दबाब सिर्जना गर्छौं,’ सापकोटाले भने, ‘समयमै नबोलाउनुमा केही बदनियत छ कि जस्तो हामीलाई लागिरहेको छ ।’
माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।
पार्टीको केन्द्रीय समिति बैठक सफल बनाउनेगर गहन, गम्भीर र महत्त्वपूर्ण सुझाव संकलनको काम भइरहेको उनले बताएका छन् । स्थायी समिति बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रुपान्तरण लगयातका यावत् विषयमा आफ्ना कुराहरू राखेको उनले बताए ।
‘अब हामीले सबै पालिकामा समाजवादको आधार खडा गर्नुपर्छ । पहिला १ सय २२ वटा तहमा नेतृत्व थियो । अहिले ग्रामथानसहित १ सय २३ वटामा छ । ग्रासरुट सुशासनमा सर्वाधिक जोड दिननुपर्छ,’ सापकोटाले भने ।
प्रतिक्रिया दिनुहोस्