काठमाडौं ६ माघ । केही दिनयता काउली, बन्दा, गोलभेंडा, मुला लगायतका तरकारीको भाउ घट्न थालेको छ । काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज काउली, मुला, बन्दा, गोलभेंडा, भन्टा र टाटे सिमीको थोक भाउ किलोमा ५० रुपैयाँभन्दा कम छ ।
स्थानीय काउली किलोको १७, स्थानीय अर्थात् ज्यापु काउली २५ र तराईको काउलीको भाउ १७ रुपैयाँ थोक मूल्य छ । यस्तै रातो मुला र हाईब्रीड अर्थात् सेतो मुलाको थोक भाउ किलोको २५ र लोकल सेतो मूलाको १७ रुपैयाँ रहेको छ । लोकल बन्दाको २२ रुपैयाँ तथा तराईको बन्दा र नरिवल बन्दाको औसत मूल्य १७ रुपैयाँ प्रतिकिलो छ ।
यस्तै गोलभेंडा, भन्टा र टाटे सिमीको थोक भाउ पनि ५० रुपैयाँभन्दा कम छ । सानो अर्थात् लोकल गोलभेंडाको प्रति किलो २२, भारतीय सानो गोलभेंडाको ३५ र तराईको सानो गोलभेडाको औसत मूल्य ३२ रुपैयाँ छ । भारतीय ठूलो गोलभेंडाको औसत मूल्य भने ६५ रुपैयाँ रहेको छ ।
यस्तै लाम्चो भन्टाको प्रति किलो ३७ र डल्लो भन्टाको औसत मूल्य ४५ रुपैयाँ छ । टाटे सिमीको प्रति किलो औसत मूल्य ४२ रुपैयाँ रहेको छ । यस्तै रातो आलुको प्रति किलो ४२ र भारतीय रातो आलुको औसत मूल्य ३८ रुपैयाँ छ । भारतीय सुकेको प्याजको थोक मूल्य किलोको ६४ रुपैयाँ रहेको कालिमाटी फलफुल तथा तरकारी बजार समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्