काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले चुनदेवीस्थित पार्टीको सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापतिको हैसियतमा सम्बोधन गर्ने बोर्ड आफूले राखेको बताएका छन्।
शुक्रबार कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तामाङले देउवा चुनदेवीस्थित कार्यालयमा पुगेपछि आफूले कुनै नेतासँग सल्लाह नगरी सभापतिको बोर्ड राखिदिएको बताएका हुन्।
“शेरबहादुर दाइ चुनदेवीमा जानुभयो। त्यहाँ सभापतिको बोर्ड पनि मैले कुनै पनि नेताजीहरूलाई नसोधीकन मैले राखिदिएको छु,” तामाङले भने।
कांग्रेसभित्र विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको विषय सर्वोच्च अदालतमा पुनरावलोकनको अवस्थामा रहेका बेला देउवालाई सभापतिको हैसियतमा बोर्ड राखिएको विषयलाई राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
तामाङले कार्यक्रममा शशांक कोइरालाले सुनाएको पुरानो ‘फिल्म’ प्रसङ्गलाई समेत राजनीतिक व्यंग्यका रूपमा प्रयोग गरे। शशांकले देउवा राजनीतिमा नयाँ हुँदा बीपी कोइरालाको आग्रहमा आफूले उनलाई फिल्म देखाउन लगेको प्रसङ्ग सुनाएका थिए।
त्यसैलाई जोड्दै तामाङले देउवालाई अहिलेका सभापति गगन थापालाई पनि फिल्म देखाउन आग्रह गरे।
“अब शेरबहादुर दाइले अरूलाई फिल्म नहेराए पनि एकचोटी गगनकुमार थापालाई राम्रो हलमा लगेर फिल्म हेराइदिनुस्,” उनले व्यंग्य गर्दै भने।
तामाङको अभिव्यक्तिले कांग्रेसभित्र देखिएको पुरानो नेतृत्व र नयाँ नेतृत्वबीचको शक्ति संघर्षलाई थप राजनीतिक व्यंग्य र प्रतीकात्मक अभिव्यक्तिमार्फत सतहमा ल्याएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्