म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा सक्रिय पहिरो कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डका लागि ठूलो चुनौती बनेको छ। पहिरोका कारण बर्खायाममा सडक पटक–पटक अवरुद्ध हुनुका साथै यात्रु तथा सवारीसाधन दुर्घटनाको जोखिमसमेत बढेको छ।
भारत र चीनलाई जोड्ने महत्वपूर्ण अन्तरदेशीय सडकका रूपमा रहेको यो मार्ग उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ। यही सडक हुँदै कोरला नाकातर्फ मालवाहक कन्टेनर तथा मुस्ताङतर्फ यात्रुबाहक सवारीसाधन आवतजावत गर्छन्।
स्थानीयवासीका अनुसार कालीगण्डकी नदीको किनारदेखि भगवतीको माझखर्कसम्मको भूभागमा पहिरोको जोखिम बढेको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सामान्य वर्षा हुँदा समेत सिरुबारीमा पहिरो खस्ने र सडक सञ्चालन प्रभावित हुने गरेको बताउनुभयो।
“सामान्य वर्षा भए पनि पहिरो खसेर सडक अवरुद्ध हुन्छ। साँघुरो र हिलाम्मे सडकमा सवारीसाधन चलाउन पनि जोखिमपूर्ण हुन्छ,” अध्यक्ष पुनले भन्नुभयो, “सवारीसाधन गुडिरहेका बेला माथिबाट ढुङ्गा खस्ने भएकाले यात्रुको सुरक्षाका लागि निकै सावधानी अपनाउनुपर्छ। यसले दुर्घटनाको जोखिम बढाएको छ।”
सिरुबारी पहिरोका कारण सडकको दुवैतर्फबाट सवारीसाधन सञ्चालन गर्न कठिन हुने गरेको छ। पहिरो क्षेत्रमा जाम हुँदा मुस्ताङ जाने तथा कोरला नाकाबाट फर्किने सवारीसाधन लामो समय रोकिने गरेका छन्।
अध्यक्ष पुनका अनुसार यस वर्ष बर्खायाम सुरु भएयता बेनी–जोमसोम सडकखण्डमा सबैभन्दा बढी समस्या सिरुबारीमै देखिएको छ। सडक मुनि कालीगण्डकी नदी र माथिल्लो भागमा करिब २०० मिटर चौडाइमा फैलिएको पहिरोका कारण आसपासको भूभागसमेत अस्थिर बनेको छ। यसले माझखर्क बस्तीमा समेत जोखिम बढाएको छ।
पहिरो नियन्त्रणका लागि तत्काल र दीर्घकालीन गरी दुई विकल्प अघि सारिएको छ। तत्कालका लागि सिरुबारीबाट अन्नपूर्ण गाउँपालिकातर्फ दुईवटा बेलिब्रिज जडान गरेर वैकल्पिक रूपमा यातायात सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको छ। तर दीर्घकालीन समाधानका लागि पहिरोको वैज्ञानिक अध्ययन गरी नियन्त्रण आयोजना सञ्चालन गर्नुपर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ।
बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भने पहिरो नियन्त्रण तथा सडक सञ्चालनका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखिएका छन्।
पछिल्ला तीन वर्षदेखि बर्खायाममा पहिरो पन्छाउँदै सडक सञ्चालन गरिँदै आएको भए पनि दुई साताअघि सिरुबारीमा खसेको पहिरोले सडक आयोजनाको एउटा डोजरसमेत क्षतिग्रस्त भएको थियो।
गत हिउँदमा पहिरो नियन्त्रणका लागि ‘बेन्चिङ’ प्रविधि अपनाइएको थियो। भीर तथा सडक निर्माण क्षेत्रमा माटोलाई सिँढीजस्तो आकारमा काटेर पहिरो रोक्ने यो प्रविधि प्रयोग गरिए पनि यसपटक बेन्चिङ गरिएको स्थानभन्दा फरक खोल्सा क्षेत्रमा पहिरो खसेको आयोजनाले जनाएको छ।
असारको अन्तिम साता मुस्ताङबाट फर्कने क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरुबारी पहिरोको स्थलगत अवलोकन गर्दै चालु आर्थिक वर्षभित्रै दीर्घकालीन रोकथामको काम सुरु गर्न बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
त्यसैगरी, साउन २ गते गृह जिल्ला पुग्नुभएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले समेत अन्तरदेशीय व्यापारिक मार्गका रूपमा रहेको सिरुबारी पहिरोको दीर्घकालीन समाधानका लागि सरकारले काम अघि बढाउने बताउनुभएको थियो।
आयोजना प्रमुख शर्माका अनुसार पहिरोको वास्तविक अवस्था र भूगर्भीय कारण पहिचान गर्न भूगर्भविद्को टोलीबाट अध्ययन गरिनेछ। अध्ययनपछि पहिरो नियन्त्रणका लागि दीर्घकालीन आयोजना अघि बढाउने तयारी छ।
यसैबीच गलेश्वर, चमेरे, महभिर, भीरकाटे, बैसरी, गुइठेभिर, लामभिक्ता र लाटाखोला क्षेत्रमा पहिरो नियन्त्रण तथा रुप्से क्षेत्रमा सडक ढलान गर्ने कामसमेत अघि बढिरहेको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी जेमकुमार बैठाका अनुसार गत आर्थिक वर्षमै सम्झौता भएका केही निर्माण तथा पहिरो नियन्त्रणका काम बर्खायाममा पनि निरन्तर सञ्चालनमा छन्।
सिरुबारीको समस्या केवल एउटा सडकखण्डको अवरोध मात्र नभई मुस्ताङ र कोरला नाकासँग जोडिएको महत्वपूर्ण अन्तरदेशीय व्यापारिक तथा पर्यटकीय मार्गको सुरक्षा र सञ्चालनसँग जोडिएको विषय भएकाले यसको दीर्घकालीन भूगर्भीय समाधान आवश्यक देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्