काठमाडौं । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तालिम केन्द्रले प्रदेशका आठ जिल्लाका अमिलो जात फलफूल खेती गर्ने किसानलाई तालिम दिएको छ ।
माघ ६ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित बागवानी केन्द्रमा सञ्चालन भएको तालिममा प्रदेशका आठ जिल्लाका १८ जनाको सहभागिता थियो ।
तालिममा सुन्तला, कागती, जुनार खेतीका साथै नर्सरी गर्दै आएका किसानहरुको सहभागिता थियो ।
‘अगुवा कृषकस्तर अमिलो जात फलफूल खेती तथा बगैंचा व्यवस्थापन प्रविधि’ तालिममा विषयविज्ञ प्राविधिक तथा विज्ञहरुबाट तालिम दिइएको थियो ।
बागमती प्रदेशमा अमिलो जातको फलफूल खेतीको सम्भावना, गुणस्तरीय विरुवा उत्पादन, बगैचा व्यवस्थापन, बोर्डो मिश्रण, पेष्ट र पेन्ट बनाउने विधि र प्रयोग, फलफूल बालीमा लाग्ने किरा र रोग, त्यसको निदान, फलफूल बगैचाका लागि मलजल, खाद्यतत्वका साथै बगैचा स्थापनाका साथै फलफूलमा मूल्यअभिवृद्धिका उपायहरुबारे तालिममा सिकाइएको थियो ।
तालिममा सहभागीहरुलाई पनौतीमा रहेको सुन्तला बगैंचाको स्थलगत भ्रमण गराइएको थियो । तालिममा प्रयोगात्मक अभ्यास समेत सिकाइएको थियो ।
तालिममा सहभागी किसानहरुले तालिम अत्यन्त उपयोगी भएको भन्दै तालिम केन्द्रलाई धन्यवाद दिए ।
तालिमको समापनका अवसरमा तालिम केन्द्रका वरिष्ठ वागवानी अधिकृत पवन भण्डारीले सीमक्षात्मक विश्लेषण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तालिम समापन समारोहमा तालिम केन्द्रका प्रमुख नारायणकुमार श्रेष्ठले तालिममा फलफूल खेतीको सम्भावना अत्यन्त रहेको भन्दै सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सकियो भने किसानहरुले धेरै लाभ लिन सक्ने बताए ।
समशीतोष्ण बागवानी केन्द्र कीर्तिपुरका प्रमुख पदमप्रसाद अधिकारीले तालिममा सहभागीहरुलाई शुभकामना दिएका थिए । तालिमको संयोजन तालिम केन्द्र भण्डारा चितवनका कमला आचार्यले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्