काठमाडौं १३ फागुन । रचिन रविन्द्रको शतकमा बंगलादेशलाई पराजित गर्दै न्युजिल्यान्ड आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ।
सोमबार राति सम्पन्न खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड एक खेल अघि नै अन्तिम चारमा पुगेको हो। न्युजिल्यान्डको जितले भारत पनि एक खेल अगावै सेमिफाइनलमा पुगेको छ।
समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा साविक विजेता पाकिस्तान र बंगलादेश भने समूह चरणबाट नै बाहिरिने पक्का भएको हो।
बंगलादेशले दिएको २ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ४६।१ ओभरमा ५ विकेटको क्षतिमा भेटटयो।
न्युजिल्यान्डको जितमा रचिनले शतक पूरा गरे। १ सय ५ बलमा १२ चौका र १ छक्का सहयोगमा १ सय १२ रन बनाएका रचिन क्याच आउट हुन पुगे। टम लाथम ५५ रनमा रनआउट भए।
त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रनको योगफल तयार पारेको थियो।
बंगलादेशका कप्तान नाजमुल होसेन सान्तोले बनाएको ७७ रन नै बंगलादेशका लागि सर्वाधिक रह्यो। जोकर अली ४५ र रिसद हुसैन २६ रनमा आउट भए।
बंगलादेशलाई कम स्कोरमा रोक्न न्युजिल्यान्डका माइकल ब्रासवेलले सर्वाधिक ४ विकेट लिए। च्याम्पियन्स ट्रफीमा आज समुह बी का अष्टे«लिया र दक्षिण अफ्रिका भिड्नेछन्।
समूह ‘बी’ मा रहेका दुवै टोलीले प्रतियोगितामा समान एक जित हात पारेका हुन्। आजको खेलमा एकअर्काविरुद्ध उत्रदा दुवै टोलीको नजर सेमिफाइनलमा हुनेछ।
प्रतिक्रिया दिनुहोस्