काठमाडौं, २ चैत्र । विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रक्रिया अवरुद्ध भएको छ ।
विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।
देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा चुनावी प्रक्रिया अगाडि नबढेको हो ।
काठमाण्डौका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र काठमाण्डौ बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको निर्देशनालयले जनाएको छ । चुनावी प्रक्रिया अगाडि नबढेका क्याम्पसमा पनि आपसी समझदारीमा चुनाव गर्न त्रिविले निर्देशन दिएको छ । आउँदो ५ गते हुने स्ववियु चुनावको प्रचारप्रसारका लागि आज राति १२ बजेसम्मका लागि समय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्