काठमाडौं १४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ ।
‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको आज काठमाण्डौमा उद्घाटन गर्दै सभापित देउवाले सङ्क्रमणकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्य निरूपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिश समिति गठन गरेको बताउनुभयो । उहाँले अब छिटै नै यी आयोगहरूले पूर्णता पाउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ । सरकारले भर्खरै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । आयोगले शान्ति प्रक्रियाका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने नै छ । वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौँ ।’
सभापति देउवाले सङ्क्रमणकालीन न्यायको विषय नेपालले आफैँ सुल्झाउनसके विश्वका अरू देशका लागि पनि मानक बन्न सक्ने उल्लेख गर्नुभयो । बृहत् शान्ति सम्झौता अनुसार सङ्क्रमणकालीन न्याय दिएपछि नेपालले विश्वमाझ दीर्घकालीन शान्तिको मोडेल स्थापित गर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्