काठमााडौं १७ चैत । काठमाडौंको तीनकुनेको दंगा भड्काउन मुख्य भूमिका खेलेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
उनीहरुलाई शुक्रबार नै प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको थियो । शनिबार रातिसम्म दंगा भड्काउने १११ जनालाई पक्डेको छ । प्रहरीले आइतबार थप ४१ जनालाई मात्र मुद्दा चलाउने गरी अदालतमा उपस्थित गराएर बाँकी सबैलाई रिहा गरेको छ ।
अदालतमा मुद्दा चलाउन लैजाँदा रवीन्द्रलगायतको हातमा हत्कडी थियो। तर,सांसद रहेका धवलशमशेरलाई हत्कडी लगाइएको थिएन।

अदालत लगिएका बेला उनीहरू हात हल्लाउँदै खुसी देखिन्थे । तर अदालतले थप ५ दिन हिरासतमा राख्न आदेश दिएपछि उनीहरू फर्किँदा मलिन देखिएका थिए ।
काठमाडौं जिल्लाद अदालतकी न्यायाधीश तारावेदी महर्जनको इजलासले उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएपछि उनीहरूको अनुहार मलिन भएको हो।
शुक्रबार तीनकुनेमा प्रदर्शन भड्काउने क्रममा दुर्गा प्रसाई भागे पनि उनीहरु पक्राउ परेका थिए ।
दिनभरको दंगा–फसादपछि साँझ अस्पतालमा घाइतेहरू भेट्न पुगेका थिए। अस्पतालबाट फर्किँदाफर्किँदै उनीहरू समातिए।

शुक्रबार तीनकुनेमा प्रदर्शन भड्काउन प्रसाईले ड्युटीमा रहेका प्रहरीमाथि नै जबरजस्ती गाडी कुदाउन खोजेका थिए। आफैँले हाँकेको गाडीको झ्यालबाट समर्थकलाई प्रहरीको घेरा तोड्न उक्साएका थिए।
प्रहरीले रोक्न खोज्दा पनि उनी रोकिएनन् र सुरक्षा घेरा तोडेरै छाडे। यतिन्जेल प्रहरी पनि संयमित देखिन्थ्यो। किनभने, सुरक्षाकर्मीको चेतावनी अटेरी गरी उनी गाडी हुइँकाइरहेका थिए र समर्थकलाई उत्तेजित बनाइरहेका थिए।
मिश्र र राणाले मञ्च खाली गरेर सडकमा आउन प्रदर्शनकारीलाई आह्वान गरेका थिए ।
उनीहरूले उक्साएपछि उग्र बनेका प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी, लुटपाट र तोडफोड गरेका थिए। त्यस क्रममा दुई जनाको ज्यानै गयो। राजावादीहरूले जलाएको घरमा एक पत्रकारको समेत ज्यान गएको छ।
प्रतिक्रिया दिनुहोस्