काठमाडौं २४ चैत । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हिजो बेलुकादेखि शुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट शुरु हुने सेतो मच्छेन्द्रनाथ रथयात्रामा हजारौँको सहभागिता हुन्छ ।
रथयात्राका लागि केलटोलबाट देवताको खट दरबारमार्गको तीनधारा पाठशालाअघि लगिएको हो । बेलुका त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन हिजो रथ असन पुर्याइएको छ ।
रथ असन पुगेपछि पूजा, आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । असन, हनुमानढोका, काष्ठमण्डप, जोशीदेवल हुँदै लगनमा तीन पटक परिक्रमा पूरा गरिएपछि मच्छेन्द्रनाथलाई पुनः केलटोलमा रहेको मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
अष्टमीका दिन हिजो कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा शुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाण्डौ महानगरपालिका–२५ का पूर्वअध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले जानकारी दिनुभयो ।
यसैबीच असनमा गएराति राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा आराधना एवम् दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैतेदशैंका दिनदेखि तान्ने गरिएको छ ।
रथ दोस्रो दिन असनबाट वसन्तपुरमा रहेको कालभैरव अघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा शुरु हुने प्राचीनकालदेखिको परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्