काठमाडौं २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीका जायज चासो र चिन्तामा ध्यान दिनुपर्ने र एउटा कतैतिर ढल्किने राजनीति गर्न नहुने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित हिमालयन डायलगको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले हाम्रो छिमेकीका जायज चासो र चिन्तामा ध्यान दिनुपर्छ। दुवैसँग उत्तिकै बराबरी सम्बन्ध राख्नुपर्छ। त्सकारण कोल्टिने राजनीति गर्नुहुँदैन। यतातिर ढल्किन खोजे पनि बेठिक, उतारित कोल्टिन खोजे पनि बेठिक।’
कतैतिर ढल्केको हो भन्ने प्रश्न आउने अवस्था समेत आउन दिन नहुने उनको भनाइ छ।
‘पेकिङ(बेइजिङ)को नजिक पुगिस कि क्या हो भन्यो भने होइन, नेपालमै छु भन्नुपर्छ,’ ओलीको भनाइ छ, ‘दिल्लीको नजिक पुगिस् कि क्या हो भन्यो भने होइन म त काठमाडौँमै छु भन्नुपर्छ। हामी आफ्नै ठाउँमा छौं। सबैसँग मित्रता छ। शत्रुता कसैसँग छैन्।’
प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताए।
उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले सामन्ति शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको दाबी गरे।
‘पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । सामन्तहरू मलाई साथ देऊ भनिराखेका छन्’, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, ‘संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भन्नु इमानदारिताको खडेरी हो ।’ यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्