अर्घाखाँची २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि महाविद्वान्को जन्मभूमि भएको बताएका छन् । उनले नेपाल एक से एक विद्वान्को भूमि भएको बताएका हुन् ।
अर्घाखाँची पाणिनि गाउँपालिका–१ र २ को संगमस्थलमा ‘पाणिनि तपोभूमि सम्मेलन’ को बुधबार उद्घाटन गर्दै ओलीले गौतम बुद्ध, महर्षिहरू, कपिलमुनि, शिव नेपालमै जन्मिएको र पतञ्जली ऋषि, पाणिनि ऋषि अर्घाखाँचीमा जन्मिएको बताएका हुन् । ।
पाणिनिको महत्त्व र यसको प्रभाव असाधारण भएको बताउँदै उनले अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताए । ‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो,’ उनले भने, ‘विश्वका व्याकरणका पिता पाणिनि यही भूमिका जन्मनु भएको हो । अरु सबै व्याकरणले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।’ पाणिनिसहित शिव, श्रृंगी ऋषि, पतञ्जली र अन्य महर्षिको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्रका रूपमा नेपाल रहेको उनको भनाइ छ ।
ध्यानबाट अस्वस्थ्य मान्छे स्वस्थ्य हुने भएकाले यस क्षेत्रको विकासका लागि सरकारले ध्यान दिएको ओलीले बताए । प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण भएको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र तीनसूत्र आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) को विकासमा समेत प्रयोग भएको उनको टिप्पणी छ ।
प्रधानमन्त्री ओलीले पाणिनि तपोभूमी स्थलमा निर्माण हुन लागेको महर्षि पाणिनि ऋषिको मन्दिर शिलान्यास गरेका छन् । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीको २७ लाख, ४५ हजार ७ सय २६ रुपैयाँ १५ पैसाको लगानीमा मन्दिर निर्माण हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्