काठमाडौं ३० चैत । आउँदो महिना थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया क्वालिफायरको लागि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट भएका छन् ।
क्वालिफायरको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले झण्डै दुई हप्ताअघि प्रशिक्षण क्याम्पका लागि २८ खेलाडीलाई बोलाएको थियो । त्यसबाट दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट गरिएको क्यानले जनाएको छ । क्याम्पबाट ८ खेलाडी भने बाहिरिएका छन् ।
दोस्रो चरणको प्रशिक्षणमा छनोट हुने खेलाडीहरुमा इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, यशोदा विष्ट, रुबी पोदार, राजमती ऐरी, काजल श्रेष्ठ, पुजा महतो, कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, सोमु विष्ट, मनिषा उपाध्याय,रचना चौधरी, सीता राना मगर, सिमाना केसी र रिया शर्मा छन् ।
क्याम्पबाट बाहिरिनेमा एलिसा कुमारी यादन, सना प्रविन, अनु कडायत, मनिषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, संगिता राई र एलसा खडिया छन् ।
आउँदो ‘मे’ ७ देखि २१ सम्म हुने एशिया क्वालिफायरमा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।
ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इंग्लयाण्डमा हुने महिला टी २० विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्