हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित निर्माणाधीन तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा चीनको सिचुवान प्रान्तका ५१ वर्षीय गुओ फाङ्सुन रहेका छन्। उनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडका तर्फबाट आयोजनामा सुपरभाइजरका रूपमा कार्यरत थिए।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब २ बजे निर्माणाधीन आयोजनास्थलमा काम भइरहेका बेला लोडरको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।
मकवानपुर प्रहरीले जनाएअनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भएका ४८ वर्षीय गौरसिंह साउदले चलाएको लोडरको पछाडिको चक्काले गुओ फाङ्सुनलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका फाङ्सुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार गुओ फाङ्सुन २०८२ साल फागुन ३ गतेदेखि उक्त आयोजनामा कार्यरत थिए।
घटनालगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया तथा लास जाँच मुचुल्का तयार गरेको छ। मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्