ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास


ABC NEWS
७ भदौ २०८३, आइतबार   ८ : ५५   बजे

काठमाडौं । पछिल्लो एक दशकको प्रवृत्ति हेर्दा साउन र भदौ नेपाली सेयर बजारका लागि प्रायः उत्साहजनक महिना मानिन्थे। बजेटपछिको बजारको दिशा, नयाँ आर्थिक नीति, मौद्रिक व्यवस्थाका प्रभाव, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण र लाभांशको अपेक्षाले यस अवधिमा लगानीकर्ताको सक्रियता बढ्ने गरेको थियो।

तर, यस वर्ष भने परिस्थिति फरक देखिएको छ।

बजार सुधारका लागि सरकार र नियामक निकायले एकपछि अर्को नीति तथा सुधार योजना अघि सारे पनि त्यसको प्रभाव नेप्सेमा अपेक्षाअनुसार देखिन सकेको छैन। सकारात्मक वित्तीय सूचक, बैंक तथा जलविद्युत् कम्पनीहरूको नाफामा सुधार र लाभांश क्षमता बढ्ने अपेक्षाबीच पनि लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्।

फलतः पछिल्लो पाँच महिनामा नेप्से सूचक करिब १३ प्रतिशतले घटेको छ। गत वर्ष फागुनमा २९०० अंकभन्दा माथि पुगेको बजार भदौसम्म आइपुग्दा २६ सय अंकको आसपास झरेको छ। शुक्रबार नेप्से सूचक २६१८.१२ अंकमा बन्द भएको थियो।

बजारको दिशा हेर्दा अहिलेको सबैभन्दा ठूलो समस्या नाफा, लाभांश वा नीतिको अभावभन्दा पनि लगानीकर्ताको आत्मविश्वास कमजोर हुनु देखिएको छ।

सुधारका घोषणा धेरै, बजारमा प्रभाव कम

नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि विभिन्न नीतिगत पहल अघि बढाएको जनाएको छ। नयाँ नेतृत्व आएपछि सरोकारवालासँग छलफल बढाइएको छ भने मार्जिन कारोबारसम्बन्धी व्यवस्था, बजार आदेश प्रणाली, सर्किट ब्रेकरको सीमा, पुँजीबजार सुधारसम्बन्धी दीर्घकालीन योजना तथा ऋणपत्र बजारसँग सम्बन्धित व्यवस्थामा सुधारका प्रयास भइरहेका छन्।

सरकारले पनि पुँजीबजारलाई दीर्घकालीन रूपमा व्यवस्थित र विश्वसनीय बनाउने प्रतिबद्धता दोहोर्याउँदै आएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार एक कार्यक्रममा सेयर बजारलाई अल्पकालीन रूपमा कृत्रिम ढंगले उचालेर फेरि ओराल्ने नीति सरकारको नभएको बताएका थिए।

उनले भनेका थिए, “दुई महिनाका लागि लोकरिझ्याइँमा सेयर बजारलाई कृत्रिम ढंगले ह्वात्तै माथि उछालेर बम्प गरेर फेरि डम्प गर्नका लागि यो सरकार आएको होइन।”

सरकार र नियामक निकायको भनाइमा बजारको दीर्घकालीन सुधारको प्रतिबद्धता देखिए पनि लगानीकर्ताले त्यसलाई तत्काल बजारमा प्रतिबिम्बित भएको महसुस गर्न सकेका छैनन्।

यही कारण घोषणा र वास्तविक बजार व्यवहारबीचको दूरी अझै कायम देखिन्छ।

‘सिजन’मै किन हरायो रौनक?

बजार विश्लेषक सुवासचन्द्र ढुंगानाका अनुसार विगतको प्रवृत्ति हेर्दा जुलाई र अगस्टमा सेयर बजारमा उल्लेख्य सुधार देखिने गरेको थियो। तर, यस वर्ष बजारले सामान्य मौसमी प्रवृत्तिलाई समेत पछ्याउन सकेको छैन।

“विगत १० वर्षको प्रवृत्ति हेर्ने हो भने जुलाई र अगस्ट महिनामा बजार औसतमा २० प्रतिशतले बढ्दै आएको थियो,” उनी भन्छन्, “तर यो वर्ष बजारले सिजनलाई नै प्रतिक्रिया दिएको छैन।”

बजार बढ्ने समय मानिएको अवधिमै सूचक कमजोर हुनु र कारोबार रकम समेत घट्नुले लगानीकर्तामा अन्योल बढेको देखिन्छ।

विशेषगरी ठूला लगानीकर्ता सक्रिय नभएसम्म बजारमा बलियो गति आउन कठिन हुने विश्लेषण गरिएको छ।

२३ अर्बको कारोबारबाट ३–४ अर्बमा सीमित

बजारमा आएको सुस्तताको अर्को स्पष्ट संकेत दैनिक कारोबार रकममा देखिन्छ।

गत चैतमा दैनिक कारोबार २३ अर्ब रुपैयाँभन्दा माथिसम्म पुगेको थियो। नेप्सेका अनुसार चैत ८ गते मात्र २३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

तर अहिले दैनिक कारोबार रकम औसतमा ३ देखि ४ अर्ब रुपैयाँको आसपास सीमित हुन थालेको छ।

भदौ ५ गते नेप्से सूचक २६१८.७२ अंकमा रहँदा जम्मा ४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।

ढुंगानाका अनुसार कारोबार रकममा आएको यस्तो गिरावटले ठूला लगानीकर्ता बजारमा सक्रिय नभएको संकेत गर्छ।

“सिजनमै औसत ३ देखि ४ अर्ब रुपैयाँको कारोबार भइरहेको छ,” उनी भन्छन्, “यसले ‘बिग प्लेयर’हरू अझै पर्ख र हेरको अवस्थामा रहेको देखाउँछ।”

ठूला लगानीकर्ता बजारमा प्रवेश नगर्दासम्म सामान्य लगानीकर्ताको मनोबल मात्रले बजारलाई लामो समयसम्म माथि लैजान कठिन हुने उनको बुझाइ छ।

नाफा बढ्दा पनि किन बढेन बजार?

यस वर्ष सेयर बजारको अर्को रोचक पक्ष भनेको सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था अपेक्षाकृत सुधारोन्मुख देखिए पनि त्यसको प्रभाव बजारमा नपर्नु हो।

वाणिज्य बैंकहरू नेपाली सेयर बजारका सबैभन्दा ठूलो बजार पुँजीकरण भएका क्षेत्रमध्ये पर्छन्। त्यसैले बैंकहरूको नाफा, लाभांश र वित्तीय स्वास्थ्यले नेप्सेको समग्र दिशामा प्रभाव पार्ने गर्छ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको र लाभांश वितरण क्षमता पनि सुधारिएको बताइएको छ। जलविद्युत् क्षेत्रका कम्पनीहरूको नाफामा समेत सुधार देखिएको छ।

सामान्य अवस्थामा यस्ता सकारात्मक वित्तीय सूचनाले लगानीकर्तालाई आकर्षित गर्नुपर्ने हो।

तर यस पटक बजारले कम्पनीहरूको वित्तीय प्रदर्शनभन्दा बाहिरी आर्थिक तथा राजनीतिक वातावरणलाई बढी महत्व दिएको देखिन्छ।

अर्थात्, कम्पनीको नाफा राम्रो हुँदैमा मात्र बजार बढ्ने अवस्था अहिले छैन।

निजी क्षेत्रको मनोबल र बजारको मनोविज्ञान

पछिल्लो समय निजी क्षेत्रले सरकारी नीतिगत अनिश्चितता तथा व्यवसायमाथि हुने कारबाहीको शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ।

निजी क्षेत्र अन्योलमा पर्दा त्यसको प्रभाव नयाँ लगानीमा पर्छ। नयाँ लगानी सुस्त हुँदा अर्थतन्त्रको समग्र मनोबल कमजोर हुन सक्छ। र, यही मनोबल अन्ततः पुँजीबजारमा पनि प्रतिबिम्बित हुन्छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रमाथि ‘सुन्नेभन्दा थुन्ने’ प्रवृत्ति हावी हुँदा लगानीकर्ताको मनोबल कमजोर भएको टिप्पणी गरेका छन्।

“हाम्रा ऐनहरू जरिबाना लगाउने कि थुन्ने भन्नेमा मात्रै केन्द्रित छन्,” उनले भनेका छन्, “निजी क्षेत्रको मनोबल घट्दा लगानी विस्तार संकुचनमा परेको छ।”

सेयर बजारलाई अर्थतन्त्रको ‘सेन्टिमेन्ट इन्डिकेटर’ पनि मानिन्छ। भविष्यप्रति विश्वास बढ्दा लगानीकर्ता जोखिम लिन तयार हुन्छन्। तर, नीति, राजनीति र व्यवसायिक वातावरणप्रति अनिश्चितता बढ्दा बजारमा नगद भएर पनि लगानीकर्ता पर्खिने अवस्था आउँछ।

अहिले नेपाली बजारमा देखिएको परिस्थिति पनि धेरै हदसम्म यही हो।

विश्व बजार एआईतर्फ, नेपाल अझै नीतिगत प्रतीक्षामा

विश्वका प्रमुख पुँजीबजारमा पछिल्लो समय कृत्रिम बुद्धिमत्ता अर्थात् एआईसँग सम्बन्धित कम्पनीहरूले लगानीकर्ताको ध्यान तानिरहेका छन्।

प्रविधि कम्पनीहरूले एआईमा गरेको लगानी, उत्पादकत्व वृद्धि र भविष्यको नाफासम्बन्धी अपेक्षाले अमेरिका लगायतका विकसित अर्थतन्त्रका सेयर बजारमा उत्साह थपेको देखिन्छ।

एआई अब केवल प्रविधिको विषय मात्र नभई विश्वव्यापी लगानीको प्रमुख क्षेत्र बन्दै गएको छ।

तर नेपाली सेयर बजारको बहस भने अझै आधारभूत सुधारमै केन्द्रित छ—नियामक सुधार कहिले हुन्छ, नयाँ नीति कहिले लागू हुन्छ, कारोबार प्रणाली कसरी सुधारिन्छ र लगानीकर्ताको विश्वास कसरी फर्काइन्छ?

यसले नेपाली पुँजीबजार र विश्व बजारको प्राथमिकताबीचको अन्तर पनि देखाउँछ।

अब बजारलाई ‘घोषणा’ होइन, विश्वास चाहिएको छ

नेप्से अहिले केवल सूचक घटेको समस्या मात्र होइन। बजारमा कारोबार घट्नु, ठूला लगानीकर्ता निष्क्रिय हुनु र सकारात्मक वित्तीय परिणामले समेत बजारलाई उत्साहित गर्न नसक्नुले गहिरो मनोवैज्ञानिक समस्या देखाएको छ।

नियामक निकायले नयाँ निर्देशिका ल्याउनु, सरकारले प्रतिबद्धता जनाउनु र कम्पनीहरूको नाफा बढ्नु सकारात्मक पक्ष हुन्। तर ती सबैलाई जोड्ने सबैभन्दा महत्वपूर्ण तत्व भनेको लगानीकर्ताको विश्वास हो।

त्यो विश्वास नीतिगत स्थिरता, पारदर्शी नियमन, अनुमान गर्न सकिने सरकारी व्यवहार र निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोणबाट निर्माण हुन्छ।

साउन–भदौको परम्परागत ‘बुलिस सिजन’ यस वर्ष अपेक्षाअनुसार चल्न नसक्नुले एउटा स्पष्ट सन्देश दिएको छ—नेपाली सेयर बजार अब केवल मौसमी उत्साह वा राजनीतिक आश्वासनले चल्ने अवस्थामा छैन।

बजारलाई अब स्थायी सुधार, स्पष्ट नीति र विश्वासिलो वातावरण चाहिएको छ।

र, लगानीकर्ताको ‘पर्ख र हेर’ अवस्था अन्त्य नभएसम्म नेप्सेमा वास्तविक र दिगो रौनक फर्किन अझै समय लाग्न सक्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

पर्वतमा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

बागमती खोलाले बगाएर ल्याएको महिलाको शव माण्डु हाइड्रोपावरको जालीमा फेला

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu