सप्तरी, २५ चैत । भारतीय सीमा क्षेत्र नजिकै भण्डारण गरिराखिएको झण्डै १० लाख मुल्य बराबरको विभिन्न ब्राण्डका मदिरा शनिबार राति सप्तरी प्रहरीले बरामद गरेको छ । मदिरा बरामदसँगै प्रहरीले एक नेपालीसहित पाँच भारतीय नागरिक गरी ६ जनालाई पक्राउ समेत गरेको छ ।
भण्डारण गरिएको मदिरा मोटरसाइकलको प्रयोग गरि भारततर्फ मदिरा ओसार पोसार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा परिचालित टोलीले सप्तरीको बेल्ही चपेना गाउँपालिका बरदाही नाका क्षेत्रबाट मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाको बेल्ही चपेना गाउँपालिका ६ का ४० वर्षीय पुतुल सिंह भनिने सन्तोष कुमार सिंह, भारतको मधुवनी जिल्ला महादेवमण्ठ ग्राम पञ्चायतका २६ वर्षीय पवन यादव, भुतहा ग्राम पञ्चायतका मुकेश मण्डल, मधुवनी जिल्ला घडिया ग्राम पञ्चायतका २५ वर्षीय बिरेन्द्र साह, बेल्हा मझौरा ग्राम पञ्चायतका २८ वर्षीय बैजु मण्डल र छातापुर ग्राम पञ्चायतका २९ वर्षिय सुरेन्द्र यादव रहेका छन् ।
प्रहरी निरीक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट भारतीय नम्बर प्लेट भएका ६ वटा मोटरसाइकलका साथै भारततर्फ रातीको समयमा लुकिछिपी लिएर जाँदै गरेको करिब १० लाख मुल्य बराबरको मदिरा बरामद गरिएको जानकारी दिए ।
बरामद गरिएका मदिराहरुमा ड्राइगन बियर, भर्जिन, गोल्डेन वाक, दिलवाले, भोड्का ब्राण्ड लगायतका मदिरा छन् । पक्राउ परेका सबैलाई तस्करीका लागि प्रयोग गरिएका मोटरसाइकल र मदिरासहित आवश्यक कारवाहीका लागि आइतबारै राजविराज भन्सार कार्यालय बेल्ही चलान गरिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । उनले सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोक्न नाका क्षेत्रमा कडा निगरानी थालिएपछि एकपछि अर्को सफलता मिल्दै गएको बताए ।
भारतको बिहार राज्यमा मदिरा बिक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाइएकाले खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरु रातीको समयमा साइकल र मोटरसाइकलको प्रयोग गरि मदिरा सीमावर्ती भारतीय बजारमा पु¥याउने गरेको खुलेको छ । सो वापत तस्कारहरुले मदिराको खरी मुल्य भन्दा दोब्बर मूल्य भारतीय ब्यापारीहरुबाट पाउने गरेका छन् ।
केही दिनअघि पनि प्रहरीले कुनैली नाकाबाट भारततर्फ चोरी निकासी गरि लैजादै गरेको करिब १५ लाख मूल्य बराबरको चाइनिज स्याउ तथा पातो नाकाबाट २ लाख मूल्य बराबरको मदिरासहित आधा दर्जन तस्करहरुलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्