संखुवासभा, २५ चैत । संखुवासभाको फरक–फरक स्थानमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यू छ । आइतबार दिउँसो ३ बजे चैनपुर नगरपालिकामा भएको दुर्घटनामा तीन र चिचिला गाउँपालिका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
चैनपुर नगरपालिका–३ तिखेढुङ्गास्थित भित्री सडकखण्डमा अपर पिलुवाखोला हाइड्रोपावरको बिजुलीको खम्बा बोकको को २ त. ५८०५ नम्बरको ट्रयाक्टर पावर हाउस निर्माणस्थल चैनपुर नगरपालिका–२ को सल्लेरीतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी नायव उपरीक्षक सन्तोष खडकाले जानकारी दिए ।
उक्त दुर्घटनामा परी मादी नगरपालिका–७ का राजेन्द्र राई, हर्कबहादुर राई र टंक पौडेलको उपचारको क्रममा चैनपुर अस्पतालमा मृत्यु भएको हो । ट्रयाक्टरका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का रमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।
त्यस्तै, चिचिला गाउँपालिका–१, कागते स्थित भित्री सडकखण्डमा को २ त ५९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कृष्णबहादुर थापाको मृत्यु भएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारी मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रयाक्टरका चालक चिचिला गाउँपालिका–२ का उमेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्