काठमाडौं १९ असार । वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाइएको छ ।
कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक गाडीलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च भएकाले यात्रु र गाडीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताउनुभएको छ ।
गएका वर्षहरुमा पनि यो राजमार्गमा वर्षातको समयमा धेरै जनधनको क्षति भएकाले रातिको समयमा यात्रामा रोक लगाउने गरेको उहाँले बताउनुभयो ।
राजमार्गमा हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले मकवानपुर, सिन्धुलीको जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो निर्णय लागू गरिएको सहायक सिडियो ढुंगेलले जानकारी दिनुभएको छ ।


















प्रतिक्रिया दिनुहोस्