काठमाडौं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, प्रविधि तथा स्रोत–साधन अभाव हुँदा साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी हुन नसकेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले चाहना हुँदाहुँदै पनि सेवा दिन नसकेको बताए । बढ्दो सामाजिक सञ्जाल प्रयोगसँगै साइबर अपराध तीव्र रूपमा बढिरहेको उनले बताए ।
साइबरसम्बन्धी मुद्दा प्रत्येक वर्ष बढ्दै गएको उल्लेख गर्दै उनले अनुसन्धान गर्ने निकायसँग पर्याप्त जनशक्ति र आधुनिक प्रविधि नहुँदा नागरिकले समयमै गुणस्तरीय सेवा पाउन नसकेको स्वीकार गरे ।
“साइबर रिलेटेड केसहरू हरेक वर्ष बढ्दो छ, यो कुरा डाटाले देखाएको छ । तर, हामीसँग यसको अनुसन्धान गर्ने जनशक्ति, स्रोत साधन मजबुत हुनुपर्ने हो, तर त्यो अवस्था छैन,” उनले भने, “जनशक्ति कम छ, प्रविधि कम छ । हामी सर्भिस दिन सकेका छैनौँ । गुणस्तरीय सर्भिस दिन सकेका छैनौँ ।”
साइबर अपराधका उजुरीको अनुसन्धान प्राविधिक प्रक्रिया र कानुनी नियमनका कारण अपेक्षाभन्दा लामो समय लाग्ने उनको भनाइ छ ।
“साइबर अपराधको सन्दर्भमा चाहेर पनि सर्भिस छिटो दिन सकिँदैन भन्ने कुरा मैले आफैँले पनि भोगेको छु । त्यसको प्रोसेस र नियमन गर्ने कुरा प्राविधिक विषय भएका कारणले चाहेभन्दा लामो समय लाग्ने अवस्था चाहिँ देखिने रहेछ,” उनले भने, “यससँग प्रभावित व्यक्तिहरूले सेवा छिटो नपाउने कारण बुझ्नुभन्दा पनि सेवा छिटो पाइएन भनेर गुनासो पनि बढ्दै गइरहेको छ ।”
उनले साइबर अपराध नियन्त्रणका लागि कानुन निर्माण र नियमन मात्र पर्याप्त नहुने भन्दै संघ, प्रदेश र स्थानीय तहसहित सबै सरकारी निकाय, शैक्षिक संस्था, सामाजिक संघसंस्था र नागरिकको साझा जिम्मेवारी आवश्यक रहेको बताए ।
साइबर अपराध न्यूनीकरणका लागि कानुन कार्यान्वयनभन्दा पनि जनचेतना अभिवृद्धि प्रभावकारी उपाय भएको उनको भनाइ छ । सामाजिक सञ्जाल प्रयोग गर्दा अधिकारसँगै जिम्मेवारी र कर्तव्यबारे पर्याप्त सचेतना नहुँदा साइबर अपराधका घटना बढिरहेको टिप्पणी उनको छ । न्युज एजेन्सी नेपाल
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्