उदयपुर,२९ चैत्र । गाईघाट नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो ।
सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र शंसोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न पछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दैगर्दा ८ बजेर १५ मिनेट जाँदा पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले बताए ।
सेवाग्राहीको ३ कठ्ठा जग्गाको नक्सा सुधार र शंसोधन गर्ने भन्दै साहले सुरुमा ५ लाख रुपिँया घुस मागेको बुझिएको छ । ठुलो रकम माग भएपछि सेवाग्राही नापी विभागमा पुगेका थिए ।
विभागले सुधार गरिदिन परिपत्र गरेपछि पनि साहले काममा ढिलासुस्ति र अल्झाउने जस्ता कार्य गर्दै पैसा नलिई नगर्ने संकेत देखाएपछि लिने र दिनेविच २ लाख रुपिँयामा सहमति भएको सेवाग्राहीले बताएकाछन् ।
पक्राउ परेका साहले आफुले घुस नलिएको बताए । उनले भने, ‘म पुजा गर्दै थिए सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए ।’ तर सेवाग्राहीले भने टेलिफोन गरेर क्वाटरमा बोलाई पैसा हातले नै बुझेर राखेको दावि गरे । पैसा हातले बुझे नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्टगर्दा हातले नै बुझेको फेला पारेको छ ।
प्रतिक्रिया दिनुहोस्