काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारलाई प्रभावकारी बनाउन नीतिगत आत्मविश्वास, स्थिर नीति र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग हालै भएको संवादलाई उल्लेख गर्दै निजी क्षेत्रले सहुलियतभन्दा बढी स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरेको बताए।
उनले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादनबीच तालमेल हुनुपर्नेमा जोड दिँदै विगत एक दशकमा भएका नीतिगत निर्णयहरूको कार्यान्वयन अपेक्षाअनुसार प्रभावकारी हुन नसक्नुका कारण पहिचान गर्नुपर्ने आवश्यकता औँल्याए।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटलाई नियमित वार्षिक कार्यक्रमभन्दा माथि उठेर आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्रका रूपमा व्याख्या गरे। उनले यस लक्ष्य हासिल गर्न नेपाल राष्ट्र बैंकले पनि आफ्नो भूमिका थप प्रभावकारी ढंगले पुनःपरिभाषित गर्नुपर्ने धारणा राखे।
छलफलका क्रममा उनले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारी सिर्जनामा परिचालन गर्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध विकास गर्ने विषयमा राष्ट्र बैंकसँग सुझाव मागेका थिए।
त्यस्तै, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणहरूको विकास र विस्तारलाई सहज बनाउने नीति आवश्यक रहेकोमा पनि उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक निकायका रूपमा नभई आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माता का रूपमा अघि बढ्नुपर्ने बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्