सर्लाही । धानबालीको मुख्य सिजनमा रासायनिक मलको चरम अभाव भएपछि सर्लाहीका किसान समस्यामा परेका छन्। डीएपी र युरिया मल नपाउँदा किसान बिहान उज्यालो हुनुअघि नै लाइन बस्न बाध्य छन् भने कतिपय स्थानमा आक्रोशित किसानले वडा कार्यालयसमेत घेराउ गरेका छन्।
मधेश प्रदेशका जिल्लामा अझै धान रोप्न बाँकी रहेका किसान डीएपी मलको खोजीमा छन् भने धान रोपिसकेका किसानलाई युरिया मल अत्यावश्यक परेको छ। तर, सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत वितरण गर्ने अनुदानको मल पर्याप्त नआउँदा सहकारी संस्था र डिलरले समेत किसानको माग धान्न सकेका छैनन्।
वडा कार्यालयमै किसानको प्रदर्शन
कविलासी नगरपालिका–६ जमुनियामा युरिया मल नपाएको भन्दै किसानहरूले बुधबार वडा कार्यालय घेराउ गरेका छन्। वडामा आएको सीमित मल वितरणका क्रममा घण्टौँ लाइन बसे पनि अधिकांश किसान रित्तो हात फर्किनुपरेपछि उनीहरू आक्रोशित बनेका हुन्।
वडाध्यक्ष पुरुषोत्तम रायका अनुसार वडामा १४८ बोरा मल आए पनि आवश्यक पर्ने किसानको संख्या सयौँ छ।
“१४८ बोरा मल आउँछ तर यहाँ मल चाहिने किसान सयौँ छन्। यस्तो अवस्थामा सबैलाई वितरण गर्न सकिँदैन। तनाव बढेपछि ५० बोरा मलसमेत बाँड्न नसकेर डिलरमा ताला लगाएर राखेका छौँ,” वडाध्यक्ष रायले भन्नुभयो।
उहाँका अनुसार आलोपालो प्रणाली अपनाएर वितरण गर्ने प्रयाससमेत किसानहरूले स्वीकार गरेका छैनन्।
आधा बोरा पाए पनि धेरै किसान रित्तै फर्किए
ईश्वरपुर नगरपालिका–१२ घारीबथानस्थित महिला साना किसान कृषि सहकारी संस्थामा पनि मंगलबार युरिया मल लिन ठूलो भीड लागेको थियो।
स्थानीय किसान रामशरण खड्काका अनुसार सीमित परिमाणमा मल आएपछि अगाडि लाइनमा बसेका केही किसानले आधा बोरा मल पाए पनि अधिकांश किसान खाली हात घर फर्किनुपरेको छ।
उहाँका अनुसार यस वर्ष पर्याप्त वर्षा भएपछि अधिकांश किसानले एकै समयमा धान रोपेका कारण एकैपटक मलको माग अत्यधिक बढेको हो।
कालोबजारीबाट महँगो मूल्यमा मल किन्न बाध्य
अनुदानको मल सहज रूपमा उपलब्ध नभएपछि किसानहरू कालोबजारीमार्फत भारतीय तथा अनुदानकै मल महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन्।
बागमती नगरपालिका–३ जिरायतका किसान सञ्जय महतोले सामान्यतया करिब एक हजार रुपैयाँ पर्ने एक बोरा मल २ हजार ५ सय रुपैयाँ तिरेर किन्नुपरेको गुनासो गर्नुभयो।
“डेढ बिघा खेतमा धान खेती गर्न पाँच बोराभन्दा बढी मल चाहिन्छ। तर मुस्किलले एक हजार रुपैयाँ पर्ने एक बोरा मल २५ सय रुपैयाँमा किनेर ल्याउनुपरेको छ,” उहाँले भन्नुभयो।
वितरणमा प्रहरी परिचालनसम्म
मल वितरणका क्रममा किसानको भीड अत्यधिक भएपछि कतिपय स्थानमा सुरक्षा व्यवस्था मिलाउन प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, नवलपुर (सर्लाही) का कार्यालय प्रमुख सरोज खनालले जिल्लाभर मल अभावको गुनासो बढ्दै गएको स्वीकार गर्नुभयो।
उहाँका अनुसार वीरगञ्जस्थित गोदाममा मल आइपुगेको जानकारी भए पनि ढुवानी प्रक्रिया ढिलो हुँदा जिल्लामा अभाव चर्किएको हो।
“हामीकहाँ आएको मल डिलरहरूले बिल काटेर लगिसकेका छन्। अब थप मल आएपछि नयाँ कोटा निर्धारण गरेर वितरण सुरु गर्छौँ,” खनालले भन्नुभयो।
उहाँले वीरगञ्जबाट एक–दुई दिनभित्र थप मल आइपुग्ने अपेक्षा गरिएको र त्यसपछि अहिलेको अभाव केही हदसम्म कम हुने विश्वास व्यक्त गर्नुभयो।
मल अभावका कारण समयमै युरिया र डीएपी प्रयोग गर्न नसके धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। किसानहरूले सरकारसँग पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न र कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्