इलाम । केही वर्षअघिसम्म परम्परागत खेतीको एउटा हिस्सा मात्र रहेको अदुवा अहिले इलामका किसानका लागि आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ। अदुवाको मूल्यमा आएको आकर्षण र एउटै उत्पादनबाट बच्चा तथा माउ अदुवा बेचेर आम्दानी गर्न सकिने भएपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्।
माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष पाँच रोपनीमा अदुवाखेती गरेर ९० मन उत्पादन गरे। त्यसबाट २० मन बीउका लागि छुट्याएर बाँकी अदुवा प्रतिमन ४ हजार ५०० रुपैयाँका दरले बिक्री गर्दा उनले ३ लाख १५ हजार रुपैयाँ आम्दानी गरे।
‘गत वर्ष अदुवाको मूल्य राम्रो थियो, उत्पादन पनि मनग्य भयो। त्यसैले आम्दानी पनि प्रशस्त भयो,’ लिम्बूले भने।
गत वर्षको मूल्यबाट उत्साहित उनले यस वर्ष पनि २० मन बीउ रोपेका छन्। यसपटक करिब १२० मन अदुवा उत्पादन हुने उनको अपेक्षा छ।
‘पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाखभन्दा बढी आम्दानी गर्नेछु,’ उनले भने।
माङसेबुङ–२ कै किसान राजकुमार राईका लागि पनि अदुवा खेती आम्दानीको महत्वपूर्ण आधार बनेको छ। उनले गत वर्ष ५० मन अदुवा प्रतिमन ४ हजार रुपैयाँका दरले बिक्री गरेर दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरे।
यस वर्ष उनले २० मन बीउ रोपेका छन्। खेती विस्तार गरेर आम्दानी बढाउने उनको योजना छ।
‘परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छु,’ राईले भने, ‘यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत गर्न सकिन्छ भन्ने आशा छ।’ उनको अनुभवले अदुवाखेती केवल नगदे बालीका रूपमा नभई ग्रामीण परिवारको दैनिक आर्थिक जीवन धान्ने आधार बन्दै गएको देखाउँछ।
धान छाडेर अदुवातर्फ
माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष १० रोपनीमा व्यावसायिक अदुवाखेती थालेका छन्। उनले ६० मन अदुवाको बीउ रोपेका छन्।
यसअघि पनि १० मन बीउ प्रयोग गरिसकेका राई जिल्लाका किसान अदुवाबाट आकर्षक आम्दानी गर्न थालेपछि आफू पनि व्यावसायिक उत्पादनतर्फ लागेको बताउँछन्।
उनका अनुसार अदुवाबाट राम्रो आम्दानी हुन थालेपछि कतिपय किसानले धान तथा अन्य परम्परागत खेती घटाएर अदुवाको क्षेत्रफल विस्तार गर्न थालेका छन्। ‘अदुवाबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका छन्,’ उनले भने।
अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्नुको एउटा कारण माउ र बच्चा अदुवाबाट छुट्टाछुट्टै आम्दानी गर्न सकिनु पनि हो।
कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनको समयमा बच्चा अदुवाको मूल्य प्रतिमन ४ हजार ५०० रुपैयाँसम्म पुगेको थियो। अहिले माउ अदुवाको मूल्य भने प्रतिमन ७ हजार रुपैयाँसम्म पुगेको छ।
झापाको धुलाबारीमा माउ अदुवा प्रतिमन ७ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ भने इलाममा करिब ६ हजार रुपैयाँमा कारोबार भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताए।
‘बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा छ,’ उनले भने।
यही मूल्य संरचनाले किसानलाई अदुवालाई केवल बीउ वा घरेलु प्रयोगको बालीका रूपमा नभई व्यावसायिक नगदे बालीका रूपमा लिन प्रेरित गरेको छ।
तीन प्रकारको अदुवा खेती
इलाममा किसानले मुख्यतः ठूलो (भैँसे), मझौला र सानो गरी तीन प्रकारका अदुवा उत्पादन गर्दै आएका छन्।
माउ अदुवाको बिक्री भदौसम्म हुने गरेको छ भने नयाँ उत्पादनको मुख्य बजार अवधि कात्तिकदेखि जेठसम्म रहने गरेको छ।
जिल्लाका विभिन्न बजारमा उत्पादित अदुवा बिक्री तथा खपत हुने गरेको छ।
इलाम बजारबाहेक बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानाबारी र हर्कटेललगायतका बजार अदुवाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेका छन्।
अदुवा उत्पादनमा इलामको व्यावसायिक विस्तार पछिल्ला वर्षमा उल्लेख्य देखिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले ३ हजार २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवाखेती भइरहेको छ।
गत वर्ष इलाममा ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो।
उत्पादन क्षेत्र र किसानको आकर्षण हेर्दा अदुवा इलामको कृषि अर्थतन्त्रमा महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित हुँदै गएको देखिन्छ। तर मूल्यमा देखिने उतारचढाव, बजारको सुनिश्चितता, भण्डारण, प्रशोधन तथा बजार व्यवस्थापन भने किसानका लागि अझै महत्वपूर्ण चुनौती हुन्।
हालको मूल्य कायम रहिरहेमा अदुवाले किसानको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। तर मूल्य घटेको अवस्थामा किसानले ठूलो लगानी र उत्पादन जोखिम बेहोर्नुपर्ने भएकाले उत्पादनसँगै बजारको स्थायित्व र मूल्य शृंखला व्यवस्थित गर्नु आवश्यक देखिन्छ।
अहिले भने इलामका किसानको अनुभवमा अदुवा केवल खेतमा फल्ने बाली होइन—घरखर्च, छोराछोरीको पढाइ र भविष्यको बचत जोडिएको नगदे अर्थतन्त्रको आधार बन्दै गएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्