नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नुवाकोटको पञ्चकन्या गाउँपालिकाका ३३ जना नेता तथा कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
आइतबार राजीनामा दिएका उनीहरूले पार्टीभित्र वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दी बढ्दै गएको भन्दै असन्तुष्टि जनाएका छन्। समान विचार, सिद्धान्त र एजेन्डामा प्रतिबद्ध सहयात्रीलाई समेट्न नसक्दा पार्टीको मूल उद्देश्य नै कमजोर बन्दै गएको उनीहरूको आरोप छ।
राजीनामा दिनेमा पञ्चकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्रबहादुर कार्की, उपाध्यक्ष गीता मिजार, शंकर थापा र सचिव जयराम थापालगायत छन्।
त्यस्तै, वडा नं. १ का अध्यक्ष मनोजकुमार राई, वडा नं. ३ का अध्यक्ष राजु कार्की, वडा नं. ४ का अध्यक्ष भक्तबहादुर अधिकारी र वडा नं. ५ का अध्यक्ष कर्णप्रसाद सिटौलालगायत पाँचवटै वडाका पदाधिकारी तथा सदस्यहरूले पनि पार्टी परित्याग गरेका छन्।
नुवाकोट राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृह जिल्ला पनि हो।
राजीनामा दिने नेताहरू प्रस्तावित जय नेपाल पार्टीमा आबद्ध हुने तयारीमा रहेको स्रोतले जनाएको छ। डा. धवलशमशेर राणा सभापति रहने प्रस्तावित उक्त पार्टीमार्फत देश र जनताको सेवामा सक्रिय हुने उनीहरूले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्