पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा–४ गैह्रापाटनस्थित आफ्नो सचिवालय अगाडि विश्राम चौतारी निर्माण गरेको छ। आइतबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले नारेश्वरको बिरुवा रोपेर चौतारीको उद्घाटन गरे।
यसअघि पनि उक्त स्थानमा चौतारी रहेको थियो। पुरानो राजवृक्ष सुकेपछि संघले चौतारी पुनर्निर्माण गरी नयाँ बिरुवा रोपेको हो।
संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार चौतारी निर्माणमा वडा कार्यालय, स्थानीय आमा समूह र स्थानीयवासीको सहयोग तथा सहमति रहेको छ।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष पराजुलीले पोखरा चौतारीका लागि प्रसिद्ध सहर रहेको बताए। उनका अनुसार वडा कार्यालयले हालसम्म पाँच स्थानमा यस्तै चौतारी निर्माण गरिसकेको छ।
स्थानीयवासी लक्ष्मीदेवी पराजुलीले नयाँ चौतारी निर्माण भएपछि गैह्रापाटन क्षेत्रमा विश्राम गर्ने थप स्थान बनेको बताइन्। चौतारीले स्थानीयवासीलाई आराम गर्न तथा सामाजिक गतिविधि गर्न सहज हुने उनको भनाइ छ।
संघका अध्यक्ष कार्कीले पुरानो राजवृक्ष सुकेपछि स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राखेर चौतारी पुनर्निर्माण गरिएको बताए। वडा कार्यालय र आमा समूहको सहयोगले निर्माण कार्य सहज भएको उनले उल्लेख गरे।
नयाँ चौतारीले स्थानीयवासीलाई विश्रामस्थल उपलब्ध गराउनुका साथै गैह्रापाटन क्षेत्रको सौन्दर्यमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्