काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावना छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ।
त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ।
त्यसैगरी, प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
चार संसदीय समितिको बैठक
आज चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ। पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।
त्यस्तै, बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुने कार्यसूची छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्