चितवन । चितवनको खैरहनी नगरपालिका–१, शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्री युवकको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा गएराति करिब २ः३० बजे महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.३ ख २७२८ नम्बरको बसले पैदल हिँडिरहेका करिब ३५ वर्षीय युवकलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकको सनाखतका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।
घटनापछि प्रहरीले बसका चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाका कारण केही समय पूर्वपश्चिम राजमार्गको यातायातसमेत प्रभावित भएको थियो। प्रहरीले घटनास्थलमा पुगेर तत्काल ट्राफिक व्यवस्थापन गरी यातायात सञ्चालनमा ल्याएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्